साहित्य

‘अनावरण’ मा काठमाडौँ र प्रशासनको चित्रण

ललितपुर । कथाकार शुष्मा मानन्धरको लघुकथा सङ्ग्रह ‘अनावरण’ बजारमा आएको छ । पेन नेपालद्वारा शनिबार आयोजित लोकार्पण समारोहमा चौबीस कथाको सो सँगालो साहित्यकार रामकुमार पाँडे, विनय कसजु, श्रीओम रोदन, दामोदर किशोरलगायतले लोकार्पण गरे।
कार्यक्रममा समालोचक पुडासैनीले कथासङ्ग्रहले काठमाडौँ उपत्यकाको चित्रण गरेको तथा नेपाली प्रशासनिक क्षेत्रमा रहेर काम गर्ने मानिसको मनोविश्लेषण गरेको बताए । कथाकार मानन्धरले आफ्नै परिवेश र भोगाइलाई कथाका रुपमा उतारेको बताए । उनले भने, “यस सङ्ग्रहमा रहेका कथाहरुमा वास्तविक पात्र र विवरणहरु प्रतिबिम्बित गरेका छन् ।”

स्वीट्जरल्याण्ड पेनका सचिव एलिक्स प्यारोडीले साहित्यमा महिला सर्जकको भूमिकाका बारेमा चर्चा गरे। कवि, निबन्धकार र उपन्यासकारहरुको अन्तरराष्ट्रिय सङ्गठन पेन इन्टरनेशनलको सम्मेलनमा सहभागी स्रष्टाले आआफ्नो अनुभव आदानप्रदान पनि गरे ।