खेलकुद

‘पाराग्लाईडिङ्ग बिश्व कप २०१८’ कार्तिकमा हुने

काठमाडौँ । नेपाल पाराग्लाईडिङ्ग तथा ह्याण्डग्लाईडिङ्ग संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्गजाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पाराग्लाईडिङ्ग बिश्व कप हुने भएको छ । हालै ईन्डोनेसियामा सम्पन्न १८ औं एशियान गेममा नेपालको लागि एक मात्र रजत पदक दिलाउन सफल खेल पाराग्लाईडिङ्गको पहिलो पटक आयोजना गर्न लागिएको संघका महासचिव तथा प्रतियोगिता संयोजक शैलेन्द्र राउतले बताए ।

स्याङ्गजाको स्वरेक महापुर मैदान र डौंवफाँटमा हुने प्रतियोगिता कार्तिक १५ देखि १९ गते सम्म हुने छ । उक्त मैदान पाराग्लाईडिङ्गको ट्रेनिङ्ग सेन्टरको रुपमा समेत विकास गरि रहेको संघले जनाएको छ । यस अघि पनि नेपालले यसै स्थानमा एक्युरेसीको अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गरि सकेको छ ।

पुरुष र महिलाको टिम तथा ब्यक्तिगत एक्युरेसी गरि ४ स्वर्णका लागि हुने प्रतियोगितामा नेपाल सहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरविया, सिंगापुर, ईन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान र ईरानको प्रतिस्पर्धा रहने महासचिव राउतले बताए । नेपाल भ्रमण बर्ष २०२० मा हवाई साहसिक पर्यटकको संख्यामा बृद्धि गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक राउतले बताए ।

टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुष तर्फ ५ र महिला तर्फ ३ खेलाडीहरुको समूह हुने छ । प्रतियोगितामा प्रत्येक समूह तथा ब्यक्तिले ६ चरणको प्रतिस्पर्धा गर्नु पर्ने छ । ६ चरणको अंकलाई जोडेर पहिलो, दोश्रो तथा तेश्रोको घोषणा गरिने छ । एक्युरेसीमा टार्गेट क्षेत्र ५ मिटरको रेडियसमा हुने छ भने यसको एक्युरेसी स्वचालित मापन यन्त्र २२ से.मि.को हुने आयोजकले जनाएका छन् ।

नेपालले क्रस कन्ट्रिमा आफुलाई उत्कृष्ट स्थानमा राख्दै आएको छ । १८ औं एशियाली खेलकुदमा नेपालले पदक हात पार्नु अगाडी पनि २०१८ मा मित्र राष्ट्र चीनको हेनान प्रान्तको लिनझाउमा भएको चाईना लिनझाउ पाराग्लाईडिङ्ग प्रि – बिश्व कपमा नेपालका बिशाल थापाले नेपालका लागि कास्य पदक दिलाउन सफल भएका थिए । यसका साथै ईन्डोनेशियामा भएको प्रतियोगितामा टिम क्रस कन्ट्रिमा पहिलो स्थान र चिनमा भएको प्रतियोगितामा दोश्रो स्थान हात पार्न सफल भई सकेको संघले जनाएको छ ।

जिल्ला समन्वय समित, स्याङ्गजा, जिल्लाको स्थानिय सरकारको सहयोगमा हुने प्रतियोगिताका बिजयी टिम तर्पm प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १५ सय, १२ सय र ७ सय युरो प्राप्त गर्ने छन् भने ब्यक्तिगत तर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गर्ने छन् । प्रतियोगिताको बजेट करिब १ करोड ६० लाख रुपैयाको हुने संयोजक शैलेन्द्रले बताए ।