लुम्बिनी

कानून पढ्दै जनप्रतिनिधि

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगर महेन्द्र बहुमुखी क्याम्पसमा कानून विषय अध्ययनका लागि भर्ना भएका छन् । ‘‘न्यायिक समितिको जिम्मेवारी निर्वाह गर्न कानून जान्नै पर्ने भएकाले क्याम्पसमा एलएलबी अध्ययनका लागि भर्ना भएकी हुँ,’’ उनले भने ।

उपप्रमुख मगर मात्र होइन उक्त क्याम्पसमा एलएलबी अध्ययनका लागि अन्य जनप्रतिनिधि पनि भर्ना भएका छन् । कैलाली घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरी, पूर्वमन्त्री सर्वदेव ओझा, वडा अध्यक्षलगायत जनप्रतिनिधि अहिले उक्त क्याम्पसमा भर्ना भएका छन् । ‘‘नयाँ ऐन, कानून जान्नैपर्ने भएकाले कानूनको विषयमा पढन भर्ना हुन चाहेको हुँ’’, प्रवेश परीक्षा दिन आउनुभएका सल्यान क्याम्पसका प्राध्यापक मानबहादुर बीएम. को भनाइ छ ।

दुई वर्षयता उक्त क्याम्पसमा एलएलबी विषय पढ्ने विद्यार्थीको सङ्ख्या अप्रत्यासित रुपमा बढेको छ । क्याम्पसमा करीब एक हजार ४०० भन्दा बढीले एलएलबी अध्ययन गर्न प्रवेश परीक्षाका लागि आवेदन दिएका छन् । ‘‘एलएलबी अध्ययनका लागि आवेदन दिनेमा अरु विषयमा स्नातक र स्नातकोत्तर गरिसकेकाकै सङ्ख्या बढी छ’’–निमित्त क्याम्पस प्रमुख निरञ्जन ज्ञवाली बताउँछन् । विसं २०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि थुप्रै कानून परिवर्तन भएका छन् । मुलकी ऐन (मुलकी सहिंता) समेत थुपै्र परिवर्तन गरिएको छ ।
मुलुकमा भएको कानूनी परिवर्तनसँगै कानून विषय पढनेको आकषर्ण पनि ह्वात्तै बढेको छ । ‘‘शिक्षण पेशामा पनि नयाँ कानून जान्नैपर्ने भएकाले कानून विषय पढ्न भर्ना हुन चाहेको हुँ’’—एमबीएस र बीएड गर्नु भएका सुर्खेतका शिक्षक रणबहादुर खत्रीको कथन छ । उनीसँगै धनगढीका तेजबहादुर सिंहलगायत थुप्रै्र पेशाकर्मी एलएलबी पढन अग्रसर छन् ।
उक्त क्याम्पस पश्चिम क्षेत्र बुटवलपछिको सबैभन्दा पुरानो क्याम्पस हो । एलएलबी विषय बुटवलपछि नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा मात्र अध्यापन हुँदै आएको छ । दुईवर्ष पहिले महेन्द्र बहुमुखी क्याम्पसमा ९३ विद्यार्थी मात्र एलएलबी विषय अध्ययनका लागि भर्ना भएका थिए भने अहिले ७९८ विद्यार्थी अध्ययनरत छन् ।

यो वर्षमा एलएलबी पढ्नका लागि उक्त क्याम्पसमा करीब एक हजार ४०० विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । विशिष्ट ओहदामा बसेका व्यक्तिलाई काम गर्न कानूनको बारेमा ज्ञान हुनुैपर्ने र राज्यको पुनःसंरचनासँगै कानून विषय पढेकाले रोजगारी पाउने सम्भावना देखिएकाले एलएलबी अध्ययनप्रति विद्यार्थी र पेशाकर्मीको आकर्षण बढदै गएको हो ।