कर्णाली प्रदेश

जोखिममा राउटे बालबालिका

दुल्लु, दैलेख । गत साउन अन्तिम साता दैलेखको गुराँस गाउँपालिका–८ अन्तर्गत गर्चामा रहेको पातलेखोला किनारमा बस्दै आएका ३० वर्षीया राउटे प्रकाश शाहीको श्रीमती सुत्केरी भइन् ।

सत्र वर्षीया श्रीमती मिहिन शाहीबाट जुम्ल्याहा छोरी जन्मिए । दुई जनाको परिवारमा दुई छोरी जन्मिएपछि उनीहरूको खुशीको सीमा नै रहेन । त्यतिबेला सुत्केरी श्रीमतीलाई पोषिलो खानाका रुपमा भात खुवाउन प्रकाश ओखलमा धान कुट्न व्यस्त देखिन्थे । असोज पहिलो साता उनीहरु गर्चामा रहेको पातलेखोला किनार छोडेर बसाइँ सरी गुराँस गाउँपालिका–८ कै पाखापानी उक्लिए । गर्चामा बसोबास गर्दा प्रकाशको परिवारमा देखिएको खुशी एक महिना पनि टिक्न सकेन । त्यसको कारण थियो जन्मिएका जुम्ल्याहा दुबै छोरीको मृत्यु। ।
घुम्दै–फिर्दै हिँड्ने राउटे अहिले सुर्खेतको लेकबेशी नगरपालिका–९ पुगेका छन् । फिरन्ते जीवन अपनाउने यो समुदाय अलग–अलग छाप्रामा बस्छन् । त्रिपाल र पातपतिङ्गरले छाएको बस्तीको बीचैमा एउटा छाप्रो छ । अन्य छाप्रामा जस्तो त्यहाँ कुनै चहलपहल देखिन्न । त्यही छाप्रोमा प्रकाशका दम्पति आगन्तुकतर्फ टुलुटुलु हेरिरहेका हुन्छन् । भर्खरै जन्मिएका दुई सन्तान गुमाएको पीडा उनीहरुको अनुहारमा प्रस्टै देखिन्छ ।

राउटे जातिका बालबालिकाको अवस्था दयनीय छ । सरसफाइमा ख्याल नगर्नु, साना बालबालिकाले न्यानो कपडा नलगाउनु, पोषणयुक्त खानपिनमा कमी, स्याहारसुसारमा कमीजस्ता कारणले पछिल्लो तीन महीनामा तीन बालबालिकाको ज्यान गइसकेको छ । मृत्युको क्रम बढेसँगै राउटेको जनसङ्ख्या घट्दै गइरहेको छ । गत साउनमा १५१ रहेका राउटे घटेर अहिले १४८ मा झरेको छ ।

दैलेखमा बस्दा दुई बालिकाले ज्यान गुमाएपछि सुर्खेतको लेकबेशी नगरपालिकामा बसाइँ सरेका राउटे समुदायमा फेरि चार वर्षीया बालिकाले ज्यान गयो । राउटे चन्द्रमानजित शाहीका चार वर्षीया छोरी टोपी शाहीको लगातार खोकी लागेर ग्रस्त हुँदै अकालमै ज्यान गयो । यी तीनै बालबालिका मात्र नभई अहिले उक्त समुदायका अन्य बालबालिका पनि बिरामी छन् । बर्सात्को समयमा दैलेखमा चिसोमा रहेका राउटे समुदाय एक्कासि सुर्खेतमा पुगेका कारण मौसम परिवर्तनले बालबालिकामा समस्या उत्पन्न भएको राउटे परियोजनामा खटिएका अहेव विनोदकुमार बिसीले बताए । सरसफाइमा ध्यान नदिनु, साना बालबालिकाले न्यानो कपडा नलगाउनु, खानपिनमा ध्यान नदिनु, बालबालिकालाई स्याहारसुसारमा कमीलगायत कारण बालबालिका जोखिममा परेको उनको भनाइ थियो । बिसीका अनुसार उक्त समुदायका धेरैजसो बालबालिका र वृद्धवृद्धाले औषधि खान मान्दैनन् । राउटे समुदायका बालबालिका मात्रै होइन वृद्धवृद्धा पनि जोखिममा छन् । समुदायका ६० वर्षीय कान्छाराम शाही एक सातादेखि बिरामीले थलिएका छन् ।

आफूलाई जङ्गलका राजा भनेर चिनाउने राउटे समुदायमा चर्को घाम र पानी छल्न बनाइएका टहरा, आधा शरीर ढाक्ने एकसरो कपडा । नवजात शिशुका लागि घाँसको ओछ्यान, बेवारिसे सुत्केरी महिलाको दृश्य देख्दा उक्त समुदायका बालबालिका र वृद्धवृद्धा जोखिममा रहेको अनुमान गर्न सकिन्छ । बालविवाह र असुरक्षित सुत्केरीका कारण बालबालिका मात्र नभई समुदायका महिला पनि जोखिममा पर्ने गरेका छन् । सोही कारण राउटेको जनसङ्ख्या बर्षेनी घट्दो छ ।