अन्तर्राष्ट्रिय

टर्कीमा १९ जना आप्रवासीको मृत्यु, ११ जना घाइते

इस्तानबुल । टर्कीको आधिकारिक समाचार एजेन्सी अनादोलुले सडक दुर्घटनामा कम्तीमा १९ जना आप्रवासीको मृत्यु भएको जनाएको छ । मारिनेमा अधिकांश बालबालिका छन् । आप्रवासी चढेको ट्रक टर्कीको पश्चिमी प्रान्त इज्मीरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा अरु ११ जना घाइते भएका छन् । घाइतेहरुलाई नजिकको अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेहरुको पहिचान अझै खुलेको छैन ।

भिडियो तस्वीरमा दुर्घटनाग्रस्त ट्रक पल्टिएको र यात्रारत व्यक्तिहरुका सामान यत्रतत्र छरपस्ट रहेको भेटिएको छ । विगत केही वर्षदेखि टर्कीबाट हजारौं आप्रवासीहरु समुद्रको बाटो हुँदै युरोपेली युनियनको सदस्य राष्ट्र ग्रीसतर्फ प्रस्थान गरेका छन् । सन् २०१६ मा टर्की र युरोपेली युनियनबीच आप्रवासी प्रवेशमा कडा नीति अवलम्बन गर्नेगरी सम्झौता भएपनि गैरकानुनी तरिकाबाट आप्रवासीहरु ग्रीस प्रवेश गरिरहेका छन् ।