प्रदेश 1

खडेरी प्रभावित परिवारले राहत पाउने

फिदिम । चरम खडेरीका कारण लगाएको सबै बाली सुकेपछि पीडित बनेका प्रदेश नं १ का तीन जिल्लाका कृषकले राहत पाउने भएका छन् । सो प्रदेशअन्र्तगत पाँचथर, तेह्रथुम र धनकुटाका सात स्थानीय तहका खडेरी प्रभावित तीन हजार ७८१ कृषक परिवारलाई राहत वितरण गर्न थालिएको हो । गत असोज २२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले खडेरी प्रभावित कृषकलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार पाँचथरको तुम्बेवा गाउँपालिकाका ७६९, कुम्मायक गाउँपालिकाका ३११, तेह्रथुमको छथर गाउँपालिकाका ८४५, म्याङलुङ नगरपालिकाका २०४, आठराई गाउँपालिकाका ४८६, फेदाप गाउँपालिकाका ६३५ र धनकुटाको चौबिसकोट गाउँपालिकाका ५३१ परिवारले राहत पाउने प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

प्रदेशको मन्त्रिपरिषद् बैठकले खडेरी प्रभावित कृषकलाई तत्कालीन राहतका लागि प्रति परिवार रु सात हजार ५०० का दरले राहत उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त रकमको ३० प्रतिशत हिस्सा भने स्थानीय तहले व्यहोर्नुपर्ने व्यवस्था मन्त्रालयले गरेको छ । प्रदेश सरकारले ७० प्रतिशत हिस्सामा पर्ने रु पाँच हजार ७०० स्थानीय तहलाई रकम निकासा गर्न लागेको आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले जानकारी दिए ।

तुम्बेवामा वितरण शुरु

प्रदेश सरकारको घोषणाबमोजिम खडेरीबाट अति प्रभावित पाँचथरको तुम्बेवा गाउँपालिकामा राहत वितरण शुरु गरिएको छ । दशैँ नजिकिएका बेला तुम्बेवाका स्थानीयवासीलाई गाउँपालिकाले प्रदेश सरकारको निर्णयअनुसारको राहत उपलब्ध गराउन थालेको हो । राहतस्वरुप शुक्रबार मात्रै स्थानीय ३३४ परिवारलाई पाँच हजार ७०० का दरले राहत वितरण गरिएको गाउँपालिका प्रमुख होमनाथ थापाले जानकारी दिए । प्रदेश सरकारले चाँडै राहत रकम निकासा हुने पत्र पठाएकाले गाउँपालिकाकै बजेटबाट राहत वितरण गर्न थालिएको थापाको भनाइ छ ।