विचार/ब्लग

खड्ग ओलीको प्रधानमंत्री पद बाँदरको हातमा नरिवल

दीर्घराज प्रसाई/ खड्ग ओली तेह्रथुम आठराई ईउवाबाट झापा चारपानेमा रामनाथ दहालकोमा यताउती काम गरेर पढ्ने गर्थे । उनका बुबाचाहिं चारपानै मैं मेरो कान्छो मामा खगेश्वर उप्रेतीकोमा उताउती काम गर्थे । पञ्चायतकालमा सुकुम्बासीहरुलाई जग्गा दिनेक्रममा हामीले झापाको पृथ्वीनरगरमा उनका बुबालाई डेड दुई विघा जमीन दिलाएका थियौं । उहाँहरु अध्यावधि त्यही जग्गामा बसोबासो गरिआएका छन् । हामी एउटै ठाउँका हौं । मेरो मामली गाउँ ईवामा जन्मिएका खडग ओलीसँग केही राजनीतिक दृष्टिकोण बाहेक मेरो त्यस्तो खास बिरोध छैन । विदेशीहरु पनि ओलीको बिपक्षमा पासा खेलिएका थिए । त्यस्तो अवस्थामा खड्ग ओली प्रधानमन्त्री बन्न सके । सबै दुःख बेहोरेको नपत्याउँदो व्यक्ति सारा षढ्यन्त्रहरुलाई लात हानेर प्रधानमन्त्री बन्छन् भने हामीले स्यावासी दिनैपर्छ ।

खड्ग ओलीले २०५४ सालमा महाकाली संधी भएमा नेपाललाई १ खर्ब २० करोड बार्षिक आम्दानी हुन्छ भनेर ढाँटेका थिए । तर भयो फास्स फुस्स । २०७२ साल साउन, भदौंमा देशब्यापी रुपमा धर्मनिरपेक्षको बिरोध भएपछि नेपालमा धर्मनिरपेक्ष संविधानमा लेखिदैन भनेका थिए । तर भयो धर्मनिपेक्ष नैं ।

नेपालमा ९६ प्रतिशत हिन्दु, बौद्ध तथा ॐकार परिवारको जनसंस्या २०६८ सालको राष्ट्रिय जनगणनाले देखाएको थियो । जस अनुसार हिन्दुहरुको संख्या ८१.३ र ॐकार परिवारभित्र– बौद्ध, किरात, जैन, शिखहरु समेत ९६ प्रतिशत संख्या देखाएका थियो । जुन देशमा ९६ प्रतिशत ॐकार परिवारको जनसंस्या छ त्यसलाई विस्थापित गरेर अल्पमतमा रहेका इसाईहरुलाई खुसी पार्न धर्मनिरपेक्ष ?

नेपालको गौरवमय राष्ट्रियता, राजतन्त्र, हिन्दु अधिराज्य र प्रजातन्त्र बचाउन कटिवद्ध हौं ! सम्राज्यवादी शक्तिसँग लडेर विशाल नेपालको सिर्जना गर्ने शाहवंशीय राजाहरु कहिले पनि विदेशीसँग झुकेनन् । एमालेंमाओवादी, नेपाली कांग्रेसका नेताहरुले कांग्रेस (आई) की सोनीयाँ गान्धी र यूरोपका इसाई राष्ट्रहरुको अबौं रकम खाएर इसाईकरण गर्ने हेतु लिएर राष्ट्र टुक्रयाउने कुकर्ममा लागे ! २०६३ वैशाख ११गते राजा ज्ञानेन्द्रसँग ७ राजनीतिक दलको पाँचबुँदे सहमतिमा ुपरिवर्तन २०४७ सालकै संविधानलाई टेकेर हुने, विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने, वहदलीय व्यवस्था कायम रहने र संवैधानिक राजतन्त्र कायम रहने उल्लेख थियो र सहमति एक अर्कामा कायमरहने सहमति भयो ।

देशका स्थापित मान्यता नबचाउने हो भने खड्ग ओलीको धारणा र प्रधानमन्त्री पद बानरको हातमा नरिवल भनेझै हुदैछ । केपी ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि यत्ति हौसेकि उनको अहंकारको सीमा नैं रहेन । नेपाललाई कसरी उठ्न नसक्ने गरी आक्रमण गर्ने सोच लिन थालेका छन्। सँगत भनेको कस्तो हुन्छ भने मौरीको संगतमा गएमा फूलको बासना र महको भण्डारमा पुगिन्छ, झिँगाको बाटोमा लागियो भने फोहरको डंगुर र रछ्यानमा पुगिन्छ । अहिले केपी ओली प्रधानमन्त्री भएपछि धेरै दिन अल्मलिए र माओवादीसँग टाँसिन पुगेपछि उनी पनि झिँगाको बथानमा पूगेका छन् । आफैंले बारम्बार आतंककारी भनेका भारतीय कांग्रेस (आई) र उसको गुप्तचर संस्था ‘रअ’ ले तालीम दिई आर्थिक सहयोगकासाथ नेपाल ध्वस्त गर्ने इसाईका समर्थक माओवादीसँग हात मिलाएर विक्रम संवत् २०७५ साल जेष्ठ ४ गते माओवादीसँग बिलय हुन पुगेकाले ओलीको राष्ट्रियता रछ्यानमा पुगेको छ ।

धर्मनिरपेक्ष को नाममा नेपाललाई इसाईकरण गरेर हिन्दुस्थलको अस्तित्व नैं समाप्तगर्न लागेका छन् । देशको स्थिरता, एकता र सार्वभौमसत्तालाई सँधै अक्षुर्ण तथा अटल राख्न, नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको समन्वय र सन्तुलन गरेर राष्ट्रिय राजनीतिमा योगदान दिन सकौं ।