पु.समाचार

निर्मला हत्या प्रकरण : अघि बढेन अनुसन्धान, एसपी विष्टलाई बर्खास्त गर्ने तयारी

काठमाडौँ ।  कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको अढाई महिना बित्दासमेत प्रहरीले अभियुक्त पत्ता लगाउन सकेको छैन ।अनुसन्धानका निम्ति प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोका दुइटा टोली खटिएका छन् ।

अधिकांश प्रमाण नष्ट भइसकेका कारण घटनाबारे नयाँ तथ्य खुल्नेमा उच्च प्रहरी अधिकारी विश्वस्त छैनन् ।

गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले अनुसन्धानमा भएका बग्रेल्ती त्रुटि बाहिर ल्याए पनि अभियुक्त पत्ता लगाउने कुनै नयाँ तथ्य फेला पार्न सकेन । प्रहरी स्रोतका अनुसार कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोराले ओपेरा होटलमा गरेको पार्टी शंकाको घेरामा छ । तर त्यसबाट कुनै नयाँ तथ्य बाहिर आउन सकेको छैन । होटलको त्यो दिनको सीसीटीभी फुटेज सबै मेटिइसकेको छ । जिल्ला प्रहरी कार्यालयले फुटेज रिस्टोर गर्न प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो । तर मेटिएको फुटेज रिस्टोर गर्न नसकिने निष्कर्षमा ल्याब पुगेको छ ।

निर्मलाको भेजाइनल स्वाबबाट निकालिएको डीएनएमाथि प्रश्न उठे पनि बाँकी स्याम्पल नरहेका पुनस् परीक्षण सम्भव छैन । एक उच्च प्रहरी अधिकारीका अनुसार अभियुक्त पत्ता लाग्नेभन्दा अनुसन्धानको त्रुटि खोज्ने काम मात्रै भइरहेको छ ।

प्रहरी प्रधान कार्यालयले घटनाको गम्भीर अनुसन्धान नगरेको, प्रमाण जोगाएर नराखेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी विष्टलाई बर्खास्त गर्ने तयारी गरिरहेको जानकारी स्रोतले दिएको छ । प्रमाण नष्ट गरेको अभियोगमा विष्टमाथि के–कस्तो कानुनी कारबाही गर्न सकिन्छ भन्नेबारे प्रहरीको कानुन विभागले अध्ययन गरिरहेको जनाइएको छ ।

गृहले गठन गरेको उच्चस्तरीय समितिले विष्टलाई कारबाही सिफारिस गरेको थियो । एआईजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिको प्रतिवेदन आएपछि उनीमाथि कारबाही गर्ने तयारी प्रधान कार्यालयको छ । बस्नेत नेतृत्वको समितिले घटनामा संलग्न प्रहरी अधिकारीको बयान लिने र कल डिटेल अध्ययन गर्ने काम सकिसकेको छ ।

एआईजी बस्नेत शुक्रबार घटनाबारे थप अध्ययन गर्न एसएसपी नीरज शाही, डीएसपीहरू दधिराम न्यौपाने र सन्तोष आचार्यसहित कञ्चनपुर पुगेका थिए । स्रोतका अनुसार टोलीले अन्तिम प्रतिवेदन तयार पार्नुअघि स्थलगत अध्ययन गर्ने, गृह मन्त्रालयको समितिले तयार पारेको अनुसन्धानमा देखिएका केही नयाँ तथ्यबारे थप बुझ्नेछ ।

प्रहरी प्रवक्ता शैलेश थापाले गृहले गठन गरेको उच्चस्तरीय समितिले दिएको प्रतिवेदनलाई आधार लिएर प्रहरी प्रधान कार्यालयको समितिले अनुसन्धान अगाडि बढाइरहेको बताए । ‘अनुसन्धानमा त्रुटि गर्नेलाई कारबाही गर्नुपर्छ भन्नेमा हामी छौं,’ उनले भने, ‘एआईजी बस्नेत नेतृत्वको समितिले प्रतिवेदन बुझाएपछि कारबाही प्रक्रिया अगाडि बढ्छ ।’