समाचार

बडादशैँ शुरु भएपनि वाग्मती सफाइ महाअभियान जारी

काठमाडौँ । नवरात्र शुरु भएर नेपालीको महान् पर्व बडादशैँ शुरु भएपनि उपत्यकाका नदी र चक्रपथ सफाइ अभियानले निरन्तरता पाएको छ ।

धेरै अभियानकर्मी बडादशैँ मान्न उपत्यका बाहिर हिँडेका छन् । बाँकी अभियानकर्मीे आज सफाइमा उपस्थित भएका थिए । विजयादशमीको भोलिपल्ट कात्तिक ३ गते शनिबार पनि सफाइ अभियानलाई निरन्तरता दिइने जनाइएको छ । उपत्यकामा रहने अभियानकर्मीलाई सफाइमा सहभागी हुन सफाइ महाअभियानले आह्वान गरेको छ ।

वाग्मती सफाइ महाअभियान शुरु भएदेखि कुनै पर्वका अवसरमा पनि रोकिएको छैन । शनिबार विजयादशमी, भाइटीकालगायत महत्वपूर्ण पर्व परेपनि सफाइ अभियानले भने निरन्तरता पाउँदै आएका छ । महाअभियानले अपेक्षाकृत नदी सफाइ नभएपनि सामाजिक चेतना भने फैलिएको छ ।

उपत्यकाबाट ३० मेट्रिक टन फोहर व्यवस्थापन

बडादशैँ शुरु भएपछिको पहिलो शनिबार आज नदी र चक्रपथ सफाइ गरी ३० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २८३ औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत १६ संस्थाका ३५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिए । सफाइमा अधिकार सम्पन्न वाग्मती समिति अध्यक्ष नरेन्द्रराज बस्नेत, आयोजना प्रमुख आशीष घिमिरे लगायत स्थानीयवासीको सहभागिता थियो ।

वाग्मतीको मुहान सुन्दरीजलदेखि नै सफाइ गर्ने अभियान चलाएको वाग्मती सुन्दरता सरोकार मञ्चले २४४ औँ हप्ताको सफाइ गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित जम्बुडाँडा क्षेत्रमा गरियो । नगरपालिकाको वडा नं ५ का अध्यक्ष नारायणबहादुर सुवेदीको संयोजनमा सफाइ भएको थियो ।

सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । कुहिने एक मेट्रिक टन फोहर त्यहीँ गाडियो । नकुहिने एक मेट्रिक टन फोहर खाडल खनेर गाडिएको अभियानकर्मी रेखा बस्नेतले जानकारी दिनुभयो । सफाइसँगै नेपालीको महान् पर्व बडा दशैँका अवसरमा शुभकामना आदान प्रदान एवं चियापान समेत गरिएको थियो ।

सफाइमा मुहानदेखिकै नदी सफाइ अभियानमा जुटेका राम्रो जोरपाटी, हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज, माकलबारी टोल सुधार समिति लगायत संस्थाको पनि सक्रियता थियो ।

रुद्रमती सफाइको २३८ औँ हप्तामा रातोपुल क्षेत्रसमा सफाइ गरियो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । रुद्रमती सरोकार समाजको नेतृत्वमा भएको सफाइमा वडा नं। ३० का अध्यक्ष दलबहादुर कार्की, वडा सदस्य शर्मिला महतो, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूह लगायत संस्थाका २५० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको संयोजक रोहित गिरीले जानकारी दिए ।

रातोपुलमुनि थुपारिने फोहर दशैँपछिदेखि हटाइने सो अवसरमा जानकारी गराइयो । फोहर थुपार्न पशुपति क्षेत्र विकास कोषले भण्डारखाल क्षेत्रमा स्थान दिने सहमति सांसद गगनकुमार थापा र सदस्य सचिव डा प्रदीप ढकालबीचको बैठकमा भएको जानकारी गराइयो ।

विष्णुमती सफाइको २१० औँ हप्तामा आज नदी मुहान क्षेत्रस्थित बूढानीलकण्ठ नगरपालिका वडा नं। ३ स्थित मुहान क्षेत्रमा सफाइ गरियो । सफाइमा तीनवटा सुरक्षा निकाय सहित १०० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो । सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी रामकुमार श्रेष्ठले जानकारी दिए ।

वाग्मतीको सुन्दरीघाट खण्ड सफाइको ९३ औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

यसैगरी मनोहरा सफाइको ८३ औँ हप्तामा बालकुमारी क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा जिल्ला समन्वय समिति काठमाडौँकी उपप्रमुख सरिता दाहाल, महानगरपालिका वडा नं ३२ का अध्यक्ष नवराज पराजुली, सञ्जय साई केन्द्रका पदाधिकारी एवं सदस्य लगायत १०० जनाभन्दा बढीको उपस्थिति थियो ।

चक्रपथ सफाइको ७९ औँ हप्तामा बसुन्धरा चोकबाट नारायणगोपाल चोकसम्म सफाइ गरियो । १५० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले राससलाई बताए ।

आलोकनगर सफाइको ७९ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । चक्रपथ वाफल खण्ड सफाइको ६१ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

विसं २०७० जेठ ५ गते शनिबारदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानसँगै देशका १०० भन्दा बढी स्थानमा सफाइ अभियान शुरु भइसकेको छ । सरकारले यस वर्षलाई सरसफाइ वर्षकै रुपमा घोषणा गरेको छ ।