गण्डकी प्रदेश

दशैँ खर्च वितरण

बेँसीशहर । सीमान्तकृत तथा पिछडिएको चेपाङ बस्तीमा दशैँ खर्च वितरण गरिएको छ । बेँसीशहर नगरपालिका र दोर्दी गाउँपालिकामा रहेका १४ घरपरिवार चेपाङलाई खाद्यान्न वितरण गरिएको हो । रोटरी क्लब पोखरा न्यूरोड, रोटरी क्लब लमजुङ, रोट्रयाक्ट क्लब लमजुङ र बालबालिका र वातावरणको क्षेत्रमा काम गर्ने बाबा फाउन्डेशन पोखराले संयुक्त रूपमा खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको हो ।

आज बिहान चेपाङ बस्तीमै पुगी चेपाङका लागि दशैँ खर्च स्वरुप खाद्यान्न तथा बच्चाका लागि शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । १४ परिवार चेपाङका लागि प्रतिपरिवार रु सात हजार २०० गरी कूल रु एक लाखको खाद्यान्न वितरण गरिएको रोटरी क्लब लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चेपाङका लागि दुई लिटर खाद्य तेल, दुई पोका नुन, दुई केजी रातो दाल, एक किलो चिनी, एक किलो मसला, एक बोइलर कुखुरा र एक बोरा चामल वितरण गरिएको छ । चेपाङका २४ बालबच्चाका लागि स्कूल ब्याग, कापी र कलम गरी ३५ हजारको शैक्षिक सामग्री वितरण गरिएको छ ।

ज्याला मजदुरी गरी जीवन निर्वाह गर्दै आएका चेपाङ समुदायमा खाद्यान्न सहयोग पुगेपछि खुशी भएका छन् । बेँसीशहर नगरपालिका–११ चिती बरबोटमा १० घरपरिवार र दोर्दी गाउँपालिका–९ भीरकुनाम चार गरी लमजुङमा १४ परिवार चेपाङ बसोबास गर्दै आएका छन् ।