अन्तर्राष्ट्रिय

कार दुर्घटनामा ११ जनाको ज्यान गयो

थेस्सालोनिकी । उत्तरी ग्रीसमा शनिबार कार र ट्रक जुधेर भएको दुर्घटनामा कारमा सवार ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले कारमा आप्रवासीहरु रहेको आशंका गरेको छ ।

अग्निनियन्त्रकहरुले कारबाट ११ जनाको शव निकालेका छन् । उक्त कार थेस्सालोनिकीतर्फ गइरहेको थियो । काभालातर्फ गइरहेको ट्रकका ड्राइभर भने सकुशल रहेका छन् ।

ग्रीक प्रहरीले विगतमा उक्त कार आप्रवासीको तस्करीमा प्रयोग हुने गरेको जनाएको छ । शनिबार बिहान पनि उक्त कार जाँचका लागि रोक्न खोज्दा भागेको प्रहरीको दाबी छ ।

गत जुन महिनामा काभाला नजिक भ्यान दुर्घटना हुँदा तीन जना बालबालिका सहित छ जनाको मृत्यु भएको थियो । उक्त भ्यानमा सिरिया र इरानका १६ जना आप्रवासी चढेको फेला परेको थियो । –एजेन्सी