कृषि

‘भक्का’को खाजा लोकप्रिय बन्दै, व्यापार फस्टाउदैँ

भद्रपुर । झापाका आदिवासीको मौलिक परिकार ‘भक्का’को स्वाद सर्वसाधारणले रुचाएपछि यसको व्यापार फस्टाएको छ । राजवंशी समुदायले घरघरमा खाजाको रुपमा चामलको पिठोबाट बनाउने भक्का अब सडक पसलमा सबैभन्दा बढी बिक्री हुने बिहानी खाजा भएको छ ।

जाडो मौसम शुरु भएपछि झापा, मोरङ र सुनसरीका गाउँ र शहरमा भक्काको व्यापार फस्टाउने गर्दछ । धुलाबारीकी रुपसरी राजवंशी केही वर्षयता जाडो मौसममा चोकमा बसेर भक्का बेच्छिन् । यसबाट उनले परिवारको गुजारा चलाएकी छन् । ‘‘हामी जाडो मौसममा सधँै चियासँग भक्काको खाजा खाने गर्छौं’’, रुपसरीको पसलमा भक्का किन्न आएका मुस्लिम समाज झापाका अध्यक्ष अमिन अली भन्छन्,“बच्चादेखि वृद्धासम्म सबैका लागि यो खाजा स्वस्थकर छ ।”

मेचीनगर–१० धुलाबारी मोडको सडक किनारमा २० वर्षदेखि भक्का बेच्दै आएकी ४७ वर्षीया रुपसरी बिहान ५ बजेदेखि १० बजेसम्म मात्र पसल चलाउँछिन् । उनको पसलमा भक्का खान राजनीतिक दलका नेतादेखि चिकित्सक, बुद्धिजीवीसमेत आउने गरेका छन् ।

पञ्चायती शासनविरुद्ध झापा विद्रोह गर्दा १७ वर्ष कारावास बस्नु भएका लोकतान्त्रिक योद्धा सानो दुर्गा अधिकारी पनि बिहानको हिँडाइबाट फर्किएर रुपसरीकै भक्का पसलमा आइपुग्छन् र भक्का किनेर खान्छन् ।

धुलावारी मोडमा मात्र रुपसरीको जस्तै भक्का पसल एक दर्जनभन्दा बढी छन् । बजारका सबै चोक र गल्लीमा यस्ता भक्का पसलले स्थानीयवासीलाई स्वादिलो मौलिक खाजा मात्र खुवाएका छैनन्, यसबाट हजारौंको जीविका समेत चलेको छ ।

धुलावारीमै भक्का बेच्दै आएकी सुकमाया राजवंशी साना बालबालिकाले भक्का असाध्य मन पराउने गरेको बताउँछिन् । उनको पसलमा बिहान कलेज र स्कुल जाने विद्यार्थीको भीड लाग्ने गरेको छ । बिहान मर्निङ वाक गर्ने नै विशेष गरी भक्काका ग्राहक भएको शुकमायाको भनाइ छ ।

पूर्वी नेपालको झापा र मोरङका सडक किनारमा वर्षैदेखि बिक्री हुँदै आएको भक्का आजभोलि विर्तामोड र मेचीनगरका केही होटलमा समेत विशेष परिकारको रुपमा उपलब्ध हुन थालेको छ ।

चामलको पिठोलाई सानो कचौरामा हालेर पानीको बाफमा पकाइने भक्का बच्चादेखि वृद्धवृद्धासम्मको बिहानको नास्ता हो । यो खाजा खाँदा पेट भरिने र स्वादिलो पनि हुने हुँदा ग्राहक आकर्षित हुने गरेका हुन् ।

भक्काको व्यापार असोज महिनामा शुरु भएर फागुनसम्म चल्ने गरेको छ । भक्काको मूल्य १० रुपैयाँ प्रतिगोटा रहेको रुपसरी राजवंशी बताउँछिन् । झापाको काँकरभिट्टा, विर्तामोड, अर्जुनधारा, खजुरगाछी, भद्रपुर, चारआली, गौरादहलगायतका क्षेत्रका सडक किनारमा बिहानै भक्का बेच्ने र खानेको भीड नै देखिन्छ ।

रेडियो पत्रकार ज्ञानेन्द्र निरौलाका अनुसार बाफमा पकाइने भएकाले भक्को लोकप्रियता बढेको हो । अन्य खाजाको तुलनामा भक्का सस्तो रहेको निरौला बताउँछन् ।