लुम्बिनी

९१ जनालाई लालपूर्जा

बुटवल । ४८ वर्षपछि रुपन्देहीको बुटवल उपमहानगरपालिका–१९ स्थित भुडकैयामा ४९ जनालाई जग्गाधनी प्रमाणपत्र आज वितरण भएको छ । बुटवल उपमहानगरपालिका र नापी कार्यालय भैरहवा रुपन्देहीले संयुक्त रूपमा उनीहरूलाई साविक मोतिपुर–२ (ख)को कित्ता नं १२३ गाँउ ब्लकको जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदीले १०२ वर्षीया लक्ष्मीदेवी आर्चायलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्दै जग्गासम्बन्धी समस्या समाधान गर्ने दायित्व राज्यको भएको उल्लेख गर्दै सेवा प्रवाहमा समस्या आउँदा राज्य र नागरिकबीच दूरी वढ्न सक्ने शङ्का व्यक्त गर्नुभयो ।

नापी कार्यालय भैरहवाका प्रमुख नापी अधिकृत जनकबहादुर भण्डारीले प्रशासनिक झमेलाका कारण जग्गाको पूर्जा वितरणमा ढिलाइ भएको उल्लेख गर्दै १२० दिनपछि मात्रै जग्गाको नामसारी वा बेचविखन गर्न पाइने जानकारी दिए ।

स्थानीय समाजसेवी चन्द्रसिंह थापाले घर बनाएर बसे पनि अपनत्व नहुँदा घर र जग्गामा अधिकार नभएको तर प्रमाणपत्र वितरणपछि अधिकार आफूहरूमा आएको बताए । उक्त क्षेत्रमा ३ बिघा १४ कठ्ठा जग्गाको प्रमाणपत्र वितरण भएको थियो ।

विसं २०२७ मा नाप नक्सा हुँदा घना बस्ती भएकाले छुट भएको कित्तालाई एउटा ब्लकमा राखिएकाले त्यसलाई गाँउ ब्लक भनेको बताइएको छ । त्यस्तै ओमसतिया गाउँपालिकाको पडसरी र शुद्धोद्धन गाउँपालिकाको भुजौलीमा पनि गाउँ ब्लक जग्गाको प्रमाणपत्र वितरण भएको छ ।

पडसरी–५ को २८० नं कित्तामा १ बिघा १३ कठ्ठा २७ जनालाई र भुजौलीको ४४५ कित्ता नं ७ (ग) को १५ कठ्ठा १५ जनालाई वितरण भएको नापी कार्यालय, भैरहवाले जनाएको छ । यस्तै गङ्गोलियामामा २३७, २५९ कित्ता नं को गाउँ ब्लक जग्गा पनि वितरण हुँदैछ । यसअघि तिलोत्तमा नगरपालिकामा पनि ११२ जनालाई गाउँ ब्लकको प्रमाणपत्र वितरण गरिएको थियो ।