राजनीति

मान्छेका कारण बाढी, पहिरो, भूकम्पको खतरा बढ्दैँछः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले मानवीय कमजोरीका कारण विपद् जोखिमका घटना बढेको बताएका छन् । प्रकोप न्यूनीकरणको लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा गृहमन्त्रालय तथा नेपाल भौगर्भिक समाजलगायत संस्थाको सहकार्यमा यहाँ आयोजित कार्यक्रममा उनले मानवनिर्मित विपद् जोखिम न्यूनीकरणका लागि स्वयं नागरिकहरू सचेत भएर लाग्नुपर्नेमा जोड दिए ।

गृहमन्त्री थापाले भने, “मानवीय कमजोरी, गलत स्वार्थ र नीतिका कारण विपद्का घटना बढिरहेका छन् । यातायात, आवास, ऊर्जा आदि सम्बन्धी उपयुक्त नीतिको अभावले जताजतै बाटो खनिएको छ, डोजर चालक इञ्जिनीयर भएका छन्, जसले भू–क्षय र वनविनास बढिरहेको छ । यी सबै नीतिहरूमा राज्य, राजनीतिक दल तथा जनस्तरबाट पनि सोच्नुपर्ने अवस्था छ ।”

गृहमन्त्री थापाले विकसित तथा औद्योगिक राष्ट्रले कार्बन उत्सर्जन गरेकाले विश्वतापमान वृद्धि भई जलवायु परिवर्तनको जोखिम बढेको भन्दै सम्बन्धित देशले आफ्नो नीतिगत सुधार गर्नुपर्ने खाँचो औँल्याए ।

सीमित स्रोत साधनका बाबजुद पनि विपद् व्यवस्थापन तथा न्यूनीकरणमा मन्त्रालय लागिपरेको भन्दै उनले कमभन्दा कम क्षति हुने गरी विपद् व्यवस्थापनका विभिन्न क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

“विपद् व्यवस्थापनको क्षेत्रमा सरकारले बढीभन्दा बढी लगानी गर्नुपर्ने आवश्यकता छ, यसमा सरकार मात्र होइन, निजी क्षेत्रको पनि उत्तिकै
लगानी र सक्रियता चाहिन्छ, यो भएर विपद न्यूनीकरणका सामूहिक कार्यक्रम एकसाथ लैजान सकेमात्र आर्थिक र मानवीय क्षति घटाउन सकिन्छ”, गृहमन्त्री थापाले भने ।

छिट्टै विपद व्यवस्थापन प्राधिकरण

सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि छिट्टै विपद् व्यवस्थापन प्राधिकरण गठन गर्ने भएको छ । गृहमन्त्री थापाले विपद् व्यवस्थापनका लागि प्राधिकरणको आवश्यकता महसुस गरिएकाले यो छिट्टै गठन हुने जानकारी दिए ।

प्राधिकरण गठनपश्चात विपद् जोखिम न्यूनीकरणका लागि त्यससम्बन्धी योजना कार्यक्रम कार्यान्वयन गर्न प्राधिकरणले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले विपद् व्यवस्थापन प्राधिकरण गठनसम्बन्धी नियमावलीको मस्यौदा तयार भई कानून मन्त्रालयमा पठाइएको र यसले छिट्टै पूर्णता पाउने बताए ।

नेपाल भौगर्भिक समाजका अध्यक्ष डा कविराज पौडेलले विपद् जोखिमका घटनाबाट राज्यले वर्षेनी ठूलो धनजनको क्षति बेहोर्नुपरेको उल्लेख गर्दै जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि सरोकारवाला निकायबीच प्रभावकारी कार्यक्रम लैजानुपर्नेमा जोड दिए ।

गृह मन्त्रालयको तथ्याङ्कअनुसार विसं २०७१ यता भूकम्पबाट सबैभन्दा बढी आठ हजार ९६२ जनाको मृत्यु भइसकेको छ भने २२ हजार ३०२ घाइते भएका छन् । यस्तै पहिरोबाट ४५३ ले ज्यान गुमाइसकेका छन् भने घाइते हुनेको सङ्ख्या करीब ३८० पुगेको छ ।

पहिरोबाट सोही अवधिमा दुई हजार ७२० घरपरिवार प्रभावित हुनुको साथै करीब रु ९० करोड बराबरको आर्थिक क्षति तथा नोक्सानी राज्यले बेहोर्नुपरेको छ । सोही अवधिमा बाढीबाट ४१३ जनाले ज्यान गुमाइसकेका छन् भने वेपत्ता हुनेको सङ्ख्या २१७ छ । बाढीले ५९ हजार ८५६ घरपरिवार विस्थापित भएको र करीब रु १५ अर्ब आर्थिक क्षति बेहोर्नुपरेको जनाइएको छ ।