राजनीति

कांग्रेस लगायत दललाई उपप्रधानमन्त्री पोखरेलको आह्वानः समृद्ध नेपाल निर्माणमा सहयोग गर्नुस्

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले अघि सारेको समृद्ध नेपाल निर्माण अभियानमा एकजुट भएर लाग्न सबै राजनीतिक दलहरूलाई आह्वान गरेका छन् ।

विजयादशमी, दीपावली, नेपाल संवत् ११३९ र छठ पर्वको अवसरमा काठमाडौँ महानगरपालिका वडा नं ४ द्वारा यहाँ आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले आर्थिक विकाससँगै समृद्ध नेपाल निर्माणमा लाग्न सबैसँग अपिल गरे ।

विविध जातजाति, भाषाभाषी, रहनसहन, संस्कृति भएको देश नेपालमा सामाजिक सद्भाव बचाउने गरी चाडपर्व मनाउनुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।

प्रदेश नं. ३ का प्रदेशसभा सदस्य नारायण सिलवालले जनताको भावनाअनुसार तीनवटै तहका जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिए । वडा नं. ४ का अध्यक्ष मोहनबहादुर विष्टले आफ्नो वडाले अहिलेसम्म बाटो निर्माण, पार्कहरूको निर्माण, ढल व्यवस्थापनलगायत विविध स्थानीय समस्या समाधान गर्दै आएको बताए ।

काठमाडौँ प्रतिनिधिसभा निर्वाचन नं ५ अन्तर्गत पर्ने वडा नं ४ को पूर्वमा धोबीखोला, पश्चिममा महाराजगञ्जस्थित लक्ष्मी निवासको प्यारा कम्पाउण्ड, कामपा २ र ३ वडा, उत्तरमा चक्रपथ कर्णाली होटल र बूढानीलकण्ठ नगरपालिका तथा दक्षिणमा विशालनगर, भाटभटेनी र टुकुचा खोला पर्दछ ।

विभिन्न धार्मिक तचथा ऐतिहासिक महत्वका स्थलहरु रहेको यस क्षेत्रमा प्राचीन तथा प्रख्यात टुँडालदेवी, लिच्छवीकालीन ध्रूम्रबाराही, चुनदेवी, पञ्चकुमारी, बालुवाटार महादेवस्थान, शिवस्थली, टुसालेश्वर, चन्द्रेश्वर महादेवजस्ता मन्दिर रहेका छन् ।