गण्डकी प्रदेश

एक दशकपछि बल्ल पर्यटक आउन थाले

बेनी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहणका लागि एक दशकपछि बल्ल पर्यटक आउन थालेका छन् ।

विसं २०६५मा चुरेन हिमाल आरोहण भए पनि त्यसपछि यहाँका हिमाल आरोहणको लागि पर्यटक आएका थिएनन् । यसै सातामात्रै गुर्जा हिमाज र गुर्जा पश्चिम हिमाल आरोहणका लागि दुई टोली आधार शिविरतर्फ प्रस्थान गरेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।

सात हजार १९३ मिटर उचाइको गुर्जा हिमाल आरोहणका लागि दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा चार कोरियन र तीन नेपाली टोली त्यसतर्फ लागेका हुन् । पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमति पाएका टोलीले उक्त हिमालको दक्षिणी मोहोडाबाट आरोहण गर्ने तयारीका साथ आधार शिविरतर्फ लागेको उनले बताए ।

वडाध्यक्ष छन्त्यालका अनुसार गुर्जामै रहेको अर्को हिमाल घुस्तुङ पिक आरोहणका लागि फ्रान्स, क्यानडा र स्विजरल्याण्डका नागरिकको एक टोलीसमेत आधार शिविरतर्फ लागेको छ । नेपाली पर्वतारोही राजन भोटेको नेतृत्वमा सात फ्रान्सेली तथा स्विजरल्याण्ड र क्यानडाका एक÷एक नागरिक सो टोलीमा समलग्न छन् ।

पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा छ हजार ४६५ मिटर अग्लो छ । गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल रहेको गुर्जामा २०६५ सालपछि यस वर्ष मात्र हिमाल आरोहीको टोली आएपछि स्थानीयवासी उत्साहित भएका छन् ।

गुर्जा सात हजार १९३ मिटर, गुर्जा पश्चिम छ हजार ४६५ मिटर, चुरेन सात हजार ३७१ मिटर, पुथा सात हजार २६१ र म्याग्दीमाथा सात हजार मिटरभन्दा अग्लाअग्ला छन् । दुई आरोही टोलीको सामान आधार शिविरसम्म पु¥याउन गुर्जाका ६६ जनाले छोटो अवधिको लागि रोजगारीसमेत पाएका छन् ।