लुम्बिनी

दशैँ बिदाको समयमा पनि अदालतले सेवा दिदैँ

नवलपरासी । पूर्वी नवलपरासीमा रहेको नवलपुर जिल्ला अदालतले दशैँ बिदाको समयमा पनि सेवा प्रवाह जारी राख्ने जनाएको छ ।

जनतालाई बिदाको बेला बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइका लागि एक न्यायाधीशसहित श्रेस्तेदार र आवश्यक अन्य कर्मचारीको व्यवस्था गरिएको अदालतले जनाएको छ ।

आगामी कात्तिक ७ गतेसम्म अदालत बन्द रहने भएकाले विजयादशमी र शनिबारबाहेक अन्य दिन दैनिक ११ बजेदेखि ३ बजेसम्म बन्दी प्रत्यक्षीकरण रिट निवेदन उपर सुनुवाइ गरिने भएको छ । यस्तै सो दशैँ बिदा अवधिमा मुलुकी फौजदारी संहिताले गरेको नयाँ व्यवस्थाअनुसार अभियुक्तलाई पक्राउ पुर्जी जारी गर्न अनुमति प्रदान गर्ने कार्यसमेत गरिने जनाइएको छ ।

स्थानीय तहमा नेकपा संयन्त्र

गण्डकी प्रदेशअन्तर्गत पूर्वी नवलपरासी जिल्लाका सबै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुर संयन्त्र गठन गरिएको छ ।

पूर्वी नवलपरासीको गैँडाकोट, देवचुली, कावासोती र मध्यबिन्दु नगरपालिकामा आठ सदस्य र विनयी त्रिवेणी हुप्सेकोट, बौदीकाली र बुलिङटार गाउँपालिकामा छ सदस्य रहने गरी सो संयन्त्र गठन गरिएको र उक्त संयन्त्रलाई अर्को व्यवस्था नहुँदासम्मका लागि पार्टीको काम गर्ने जिम्मेवारी दिइएको छ ।

यस्तै पूर्वी नवलपरासीमा साविक दुवै पार्टीको चलअचल सम्पत्ति, भौतिक सामग्री र हालसम्मको ऋणधन वासलात तयार गर्न कार्यालय सचिव र विष्णु लम्साललाई जिम्मेवारी दिइएको छ ।

पार्टी एकता टुङ्ग्याउनका लागि निर्माण गरिएको सो संयन्त्रका अनुसार कार्यालय व्यवस्थापनको जिम्मेवारी पूर्वमाओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयलाई नेकपा नवलपुरको जिल्ला पार्टी कार्यालयका रुपमा अर्को व्यवस्था नहुँदासम्म प्रयोग गरिने भएको छ ।

यसैगरी पार्टी एकताको सन्देश प्रवाह र दशैँ, तिहार, छठ, लोसार, इद, क्रिसमसलगायत चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न असोज २९सम्म विभिन्न स्थामा कार्यक्रम गर्ने र असोज मसान्तभित्र नवलपुर जिल्लाको आठवटै स्थानीय तहमा पार्टी कार्यालय खोलिने जनाइएको छ ।