राजनीति

जनताको आकाँक्षा अनुसार ओली सरकारले काम गर्न सकेनः बरिष्ठ नेता पौडेल

नवलपरासी । नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनभावनाअनुसार काम गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।

नेपाल प्रेस युनियन नवलपुर शाखाले आज पूर्वी नवलपरासीको कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले प्रतिपक्षको सकारात्मक सुझावलाई समेत आत्मसात् गरेर सरकार अघि बढ्नुपर्नेमा जोड दिए ।

वरिष्ठ नेता पौडेलले देश स्थीरतामा प्रवेश गरेको बताउँदै सरकारले जनताको पक्षको काम गर्न नसकेको आरोप लगाए । उनले ओली सरकारले जनताको इच्छाअनुसार काम गर्न नसकेकोमा दुईतिहाईमतको समेत अपमान भएको बताएका थिए । अहिले पनि नेपालका केही दुर्गम क्षेत्रका बासिन्दा बाटो घाटोको असुुविधाका कारण आधारभूत आवश्यकताबाट वञ्चित भएकाले त्यसतर्फ सरकारको ध्यान केन्द्रीय हुनुपर्ने नेता पौडेलको भनाइ थियो ।

सरकारले स्थानीय तहलाई थप व्यवस्थापन गर्न आवश्यक रहेको जिकिर गर्दै नेता पौडेलले स्थानीय निकायले उठाउने करलाई व्यवस्थित गर्नुपर्ने बताए ।