प्रदेश 1

चिया प्रशोधन उद्योग वृद्धि

इलाम । पछिल्लो समय सरकारी तथा गैर–सरकारी क्षेत्रबाट राम्रो सहयोग पाउन थालेपछि जिल्लामा चिया प्रशोधन कारखाना स्थापना हुन थालेका छन् । ठूला उद्योगले हरियो चियाको मूल्य उचित मूल्य नदिएका कारण विभिन्न सङ्घ/संस्थाको आर्थिक सहयोगमा यस्ता उद्योग स्थापना भएका हुन् ।

चिया उत्पादन मात्र गर्नुभन्दा प्रशोधन समेत गरेको चियाको उचित मूल्य पाइने भएकाले जिल्लामा प्रशोधन केन्द्र स्थापना हुन थालेको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रवीन राईको भनाइ छ । जिल्लामा आठ उद्योगमध्ये साउनयता मात्रै सहकारीमार्फत चार प्रशोधन उद्योग स्थापना भएका छन् । निजी कम्पनीका रुपमा मात्र स्थापना हुने चिया प्रशोधन केन्द्रसमेत पछिल्लो समय सहकारीमार्फत सञ्चालन हुन थालेका जिल्ला चिया उत्पादक सहकारी संस्थाका सचिव बेदनिधि पोख्रेलले बताए ।

जिल्लामा व्यावसायिक रुपमा तीन हजार ३९३ हेक्टर क्षेत्रफलमा चियाखेती हुने गरेकामा वर्षिक १५ हजार ९७१ मेट्रिक टन चिया उत्पादन हुने चिया तथा कफी विकास बोर्डको तथ्याङ्मा उल्लेख छ ।