गण्डकी प्रदेश

आगलागीपीडितलाई नयाँ घर

पर्वत । आगलागीबाट घरबारविहीन पर्वतका एक वृद्धले आफ्नै छिमेकीको सहयोगमा नयाँ घर उपहारका रुपमा पाएका छन् । महाशीला गाउँपालिका–१ होस्राङ्दीका आगलागीपीडित खरिलाल अधिकारीलाई बेलायतमा बस्दै आएका छिमेकी उज्ज्वल गुरुङले नयाँ घर बनाइदिए । पीडितलाई कोरियामा बस्दै आएकी दीपा रानाले नयाँ गोठ निर्माण गरिदिएका छन् ।

गत वैशाख १६ गते आगलागी हुँदा खरिलालको घरगोठ जलेपछि आफन्तको शरणमा बस्दै आएका थिए । गोठमा गाईबस्तुलाई खोले पकाउँदै गर्दा आगलागी भएपछि पशु चौपायसहित घरगोठ गुमाएका अधिकारीलाई रु तीन लाख खर्च गरेर गुरुङले घर निर्माण गरिदिएका छन् । सामाजिक सञ्जालमार्फत महाशीला गाउँपालिकामा कार्यरत पशु प्राविधिक दिनेश गुरुङले खरिलालको घर निर्माण अभियान सञ्चालन गरेका थिए ।

निम्न आर्थिक अवस्था भएका खरिलालको परिवार नयाँ घर निर्माण भएपछि अहिले प्रफुल्ल छन् । “यति धेरै मनकारी व्यक्ति छन् भन्ने मैले सोचेकै थिइन”, नयाँ घर हस्तान्तरण कार्यक्रममा खरिलालले भने, “आज मैले नसोचेको बास पाएको छु”, उनलाई बिहीबार महाशीला गाउँपालिकाका अध्यक्ष राजु पौडेलमार्फत घर हस्तान्तरणसमेत गरिएको छ । खरिलालको घरमा श्रीमतीसहित दुई छोरा बस्दै आएका छन् ।