बाग्मती

सडक स्तरोन्नति गर्दै महानगरपालिका

ललितपुर । ललितपुर महानगरपालिकाले चार मिटरभन्दा कम चौडाइको ३० किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ । शहरको भित्री भागमा रहेका सडक ढुङ्गा र इँटा छापेर स्तरोन्नतिको योजना बनाइएको छ । महानगरपालिकाका भित्री बस्तीमा धेरै यस्ता साँघुरा सडक रहेका छन् । कतिपय सडक पर्यटकीय मार्गमा समेत पर्दछन् । ती सडक सुधारले स्थानीयवासी र पर्यटक दुबैलाई सहज हुने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए ।

यो वर्षभरमा काम गर्ने योजनामा परेका सडकमध्ये चार किलोमिटरमा काम सकिएको छ । शहरका भित्री भागमा पर्ने सडक कालोपत्रे भन्दा पनि ढुङ्गा र इँटा छाप्ने कामलाई प्राथमिकता दिइएको र आवश्यक भएका कतिपय स्थानमा भने ढलान गर्ने गरी बोलपत्र भएको उनले बताए । उनले भने, “हामीले सकेसम्म पुरानोस्वरुप बिग्रन नदिने कुरामा विशेष ध्यान दिएका छौं ।” पाटनका भित्री भागका धेरै सडकमा पहिले इँटा वा ढुङ्गा छापिएकामा मर्मत नहुँदा भत्किएको हो ।

मुख्य सडकसँगै यो वर्ष सहायक सडकका रुपमा रहेका बस्तीभित्रका सडक निर्माणलाई महानगरपालिकाले प्राथमिकतामा राखेको हो । स्थानीय निकायले सहायक सडकलाई बेवास्ता गरेको स्थानीयवासीले गुनासो गर्दै आएका थिए ।