पर्यटन/संस्कृति

दृश्यावलोकनस्तम्भ पर्यटकीय केन्द्र बन्दै

दाङ । घोराही उपमहानगरपालिका वडा नं १८ ढोडेनीमा रहेको नम: छु बौद्ध गुम्बा परिसरमा निर्माण गरिएको ‘मनदिल’ दृश्यावलोकनस्तम्भ पर्यटकीय केन्द्र बन्दै गएको छ । निजी लगानीमा दुई महिना अगाडि यहाँका एक समाजसेवीले निर्माण गराएको स्तम्भ चढेर जिल्लाको दृश्य हेर्न जानेहरु अहिले बढिरहेका छन् । यसले जिल्लालाई थप पर्यटकीय केन्द्र बनाउन मद्दत पुगेको छ । अहिले जिल्लाका विभिन्न ठाउँबाट घोराही बजार पुग्ने गरेका सर्वसाधारण एक पटक सो स्तम्भ चढेर जिल्लाको दृश्यवलोकन गर्न लालायित छन् । घोराही बजारदेखि करीब ७ किमी उत्तरमा पर्ने सो स्तम्भ हेर्न दैनिक सर्वसाधारणको वृद्धि भएको गुम्बा संरक्षण समितिले जनाएको छ ।

बिदा र शनिबारको दिन त त्यहाँ दृश्य अवलोकन गर्नेहरुको भीड नै लाग्ने गर्दछ । निजी लगानीमा जिल्लामा नै पहिलो पटक निर्माण गरिएको स्तम्भले त्यस क्षेत्रलाई जिल्लाको थप पर्टकीय गन्तव्य बनाउनाका साथै सुन्दरता र महत्वलाई समेत बढाएको छ । घोराही उपमहानगरपालिका–१८ निवासी समाजसेवी ८७ वर्षीय मनबहादुर पुन, उनकी श्रीमती ७८ वर्षीया दिलमाया तथा उनका छोराबुहारीले रु ४५ लाखको लागतमा सो स्तम्भ निर्माण गरिदिनु भएको हो । सो स्तम्भमा एक पटक १५ जनाले चढेर दाङको दृश्य हेर्न पाउँछन् ।

स्तम्भबाट घोराही बजारलगायत जिल्लाका धेरै स्थानको दृश्य अवलोकन गर्न सकिन्छ । स्तम्भ ५२ फिट अग्लो छ । सो स्तम्भ चढ्नका लागि सर्वसाधारण नागरिकलाई रु ५० तथा विद्यार्थीलाई रु ३० शुल्क निर्धारण गरिएको छ । स्तम्भको संरक्षणका लागि दुई कर्मचारीलाई भर्ना गरिएको छ । गुम्बा क्षेत्र तथा ढोडेनी गाउँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि आफूले स्तम्भ निर्माण गराइदिएको समाजसेवी तथा निर्माणकर्ता पुन बताउँछन् । उनी भन्छन्, “समाजमा नयाँ कुराहरुकोे सम्भावना देखाउने भनेको समाजका अगुवाहरुले नै हो । अरुलाई प्रेरणा दिनका लागि मेरो परिवारले भ्यूटावर निर्माण गरेको हो”, मनकारी पुन भारतीय सेनाका पूर्वक्याप्टेनसमेत थिए ।