अन्तर्राष्ट्रिय

आबेइ शान्ति मिसनको म्याद छ महिना थप

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदले बिहीबार सुडान र दक्षिण सुडानबीचको विवादित आबेइ क्षेत्रमा तैनाथ राष्ट्रसङ्घीय शान्ति सैनिकको म्याद अन्तिम पटक छ महिनाका लागि थप गरेको छ । परिषदले दुई देशबीचको सीमा विवाद छ महिनाभित्र टुङ्ग्याउने गरी अन्तिम पटक उक्त म्याद थप गरेको हो ।

सुरक्षा परिषदले गरेको उक्त सर्वसम्मत निर्णयमा विवादित क्षेत्रका सम्बन्धमा दुवै मुलुकले छ महिनाभित्र सहमति निर्माण गर्नुपर्ने बताउँदै राष्ट्रसङ्घीय शान्ति सेनाको म्याद अन्तिम पटक छ महिनाका लागि मात्र थप गर्ने निर्णय गरिएको उल्लेख छ ।

यसअघि पनि राष्ट्रसङ्घले सुडान र दक्षिण सुडानबीचको सीमा विवाद सुल्झाउन दुवै देशलाई पटकपटक चेतावनी दिइआएको छ । सन् २०११ मा सुडानबाट दक्षिण सुडान नामको स्वतन्त्र राष्ट्र निर्माण भएसँगै करिब १० हजार ५०० वर्ग किलोमिटर क्षेत्र ओगटेको आबेइका सम्बन्धमा विवाद चलिरहेको छ ।

यो क्षेत्रमा बसोबास गर्ने अरब मिसेरिया र एन्गोक डिन्का समुदायबीच जातीय तनाव हुने गरेको छ । सुडान र दक्षिण सुडानले आबेइमा एक किसिमको प्रशासकीय संरचना निर्माण गर्न आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे पनि वर्षौंदेखि खासै प्रगति हुन सकेको छैन । आबेइमा राष्ट्रसङ्घ मातहत अन्तरिम सुरक्षा बल तैनाथ गरिएको छ ।

सन् २०१५ नोभेम्बर महिनामा आबेइमा भएको आक्रमणमा चार वर्षकी बालिका र राष्ट्रसङ्घका एक शान्ति सैनिकको मृत्यु भएको थियो । यहाँ तैनाथ हजारौं शान्ति सैनिक इथिओपियाका छन् ।