पु.समाचार

अख्तियारको काममा राजनीतिक हस्तक्षेप अस्वीकार्य: प्रमुख आयुक्त

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोगको कामकारवाहीमा राजनीतिक गन्ध आउन नदिने बताए । सुशासनका लागि नागरिक समाज कास्कीद्वारा बिहीबार आयोजित अन्तरक्रियामा उनले भ्रष्टाचार गर्ने जोकोहीलाई नछाडिने बताए ।

आयोगको काममा सरकारी र राजनीतिक दबाब नरहेको स्पष्ट पार्दै उनले अख्तियार आफ्नो क्षेत्राधिकारअनुरुप भ्रष्टाचार नियन्त्रणमा निरन्तर लाग्ने उल्लेख गरे । ठेक्का लिएपछि लामो समयसम्म आफ्नो नियन्त्रणमा लिने र काम नगर्ने प्रवृत्ति बढेकामा जोड दिँदै उनले त्यस्तालाई अनुसन्धानको दायरामा ल्याउने बताए ।

राष्ट्रिय गौरवका आयोजनालाई निरन्तर अनुगमन गर्ने बताउँदै उनले ती योजनामा हुने भ्रष्टाचार नियन्त्रण गर्न आयोग लाग्ने उल्लेख गरे । अख्तियारमा वार्षिक २० हजारको हाराहारीमा उजुरी पर्ने गरेको र आयोगका कामको प्रभावकारिता बढाउन समयसापेक्ष तालीम प्रदान गर्ने गरिएको जानकारी दिए ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्वउपाध्यक्ष आनन्दराज मुल्मीले नेपालमा सबैभन्दा बढी भ्रष्टाचार राजनीतिक क्षेत्रमा हुने गरेको र त्यसतर्फ अख्तियारको ध्यान केन्द्रित हुनुपर्ने धारणा राखे ।