प्रवास

एनआरएन सचिवालय अब आफ्नै भवनमा, २४ करोडको लागतमा निर्माण

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले अब आफ्नै सुविधासम्पन्न भवनमा सचिवालय सञ्चालन गर्ने भएको छ ।

बालुवाटारमा निर्माण गरिएको सुविधासम्पन्न भवनको एनआरएन दिवसका अवसरमा बिहीबार उद्घाटन गरिएको हो । तत्कालका लागि सचिवालय सञ्चालन गर्नेगरी भवन सञ्चालनमा ल्याइए पनि निकट भविष्यमै भवनको औपचारिक उद्घाटन गरिने एनआरएनले जनाएको छ ।

तीन रोपनी क्षेत्रफलमा करीब रु २४ करोडको लागतको निर्माणमा पाँच तले सुविधा सम्पन्न भवन निर्माण गरिएको हो । एनआरएनका तत्कालीन अध्यक्ष डा शेष घले र वर्तमान अध्यक्ष भवन भट्टलगायतको सक्रियतामा भवन निर्माणले मूर्तरुप लिएको एनआरएन उपाध्यक्ष एवं भवन निर्माण समितिका संयोजक कुमार पन्तले जानकारी दिए ।

एनआरएनको आफ्नै भवनमा बस्ने १५ वर्षदेखिको सपना पूरा भएको भन्दै उहाँले सन् २००३ मा एनआरएन स्थापना भएदेखि नै आफ्नै भवन बनाउने अभियानले सार्थकता पाएको उल्लेख गरे ।

भवनमा सुविधासम्पन्न कन्फ्रेन्स हल, लाइब्रेरी तथा एनआरएन प्रदेश कार्यालयको सचिवालय राखिने योजना छ । अध्यक्ष भट्ट, संरक्षकहरु डा उपेन्द्र महतो, डा घले र जीवा लामिछानेले भवनको सचिवालय उद्घाटन गरी एनआरएनको झण्डोत्तोलन गरेका थिए ।
अर्का संरक्षक डा घलेले भवनलाई भवनको रूपमा सदुपयोग गर्दै एनआरएन ज्ञान र सीप आदनप्रदान तथा देशको आर्थिक विकासमा लगानी प्रवद्र्धन गर्न भवन उपयोगी बन्ने धारणा राखेका थिए ।

संरक्षक लामिछानेले लामो समयको प्रयासपछि आफ्नै भवनमा सर्न पाउनु गौरवको दिन हो भन्नुभयो । विश्वका ७९ मुलुकमा फैलिएको एनआरएनमा ७० हजार भन्दा बढी सदस्य रहेका छन् ।