पत्रपत्रिका

दरखास्तबाटै लाेकसेवाले स‌ंकलन गर्‍याे १४ कराेड

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको ५९ औंँ वार्षिक प्रतिवेदन पेश गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बिहीबार प्रस्तुत गरिएको प्रतिवेदनमा २०७४ साउनदेखि २०७५ असार मसान्तसम्म आयोगबाट सम्पादित कार्यको विवरण छ। महिलामा आकर्षण  लोक सेवा आयोगबाट सञ्चालित परीक्षामा महिलाको आकर्षण निरन्तर बढिरहेको छ।

विगत एक वर्षमा स्थायी नियुक्तिका लागि सिफारिस भएका महिलाको संख्या ३२ प्रतिशत पुगेको छ। पुरुषको संख्या ६८ प्रतिशत रहेकाे खबर गाेरखापत्रमा छ। दरखास्त दिने महिलाको संख्यामा पनि निरन्तर वृद्धि भइरहेको आयोगले जानकारी दिएको छ। कुल सात हजार ७१८ जना उम्मेदवारलाई स्थायी नियुक्तिका लागि सिफारिस गरिएकोमा महिला दुई हजार ४६५ र पुरुष पाँच हजार २५३ छन् ।

यस वर्ष पनि सिफारिस हुने उम्मेदवारहरूको औसत उमेर २७ वर्ष नै छ। दरखास्त दिने महिला ४० प्रतिशत  सुरक्षा निकाय तथा सङ्गठित संस्थातर्फका विज्ञापनमा कुल तीन लाख ६९ हजार ८५७ दरखास्त सम्बन्धित निकायमै सङ्कलन भएको आयोगले जनाएको छ । ती विज्ञापनको लिखित परीक्षामा कुल एक लाख ५९ हजार ४२६ जना उम्मेदवार सम्मिलित भएका छन् । तीमध्ये ४० महिला र ६० प्रतिशत पुरुष छन् । दरखास्त छ गुणा गत १० वर्षको अवधिमा दरखास्त दिनेको संख्या करीब ६ गुणाले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको तुलनामा भने यस वर्ष दरखास्त संख्यामा ३३ प्रतिशतले कमी भएको छ । नेपाल वन सेवातर्फका श्रेणीविहीन पदहरूमा समेत गत वर्ष विज्ञापन भएको हुँदा दरखास्त सङ्ख्या बढी देखिएको हो । एक वर्षको अवधिमा कुल पाँच हजार ९७० पदका लागि एक हजार २०४ वटा विज्ञापन र सूचनाहरू प्रकाशन भएका छन्। जसअन्तर्गत समावेशी प्रतियोगितातर्फ कुल एक हजार ८०७ पदका लागि विज्ञापन भएका थिए ।  खरिदार बढी दरखास्त गत वर्षजस्तै यस वर्ष पनि खरिदार पदमा सबैभन्दा बढी एक लाख ४६ हजार चार सय दरखास्त परेका छन् । यसैगरी, बढी दरखास्त परेका अन्य पदमा क्रमशः नायब सुब्बा, अहेव, अनमी, शाखा अधिकृतलगायत छन् ।

औसत दरखास्त धेरै परेका पदमा विद्यालय निरीक्षक, नायब प्राविधिक सहायक, नायब सुब्बा, खरिदारलगायत छन् ।  प्रदेश २ अगाडि  उम्मेदवारको स्थायी ठेगानाका आधारमा प्रदेश २ बाट कुल दरखास्तको २५ प्रतिशत दरखास्त प्राप्त भएका छन् । यस अवधिमा सबैभन्दा बढी दरखास्त पर्ने पाँच जिल्लामा क्रमशः सप्तरी, धनुषा, सिरहा, सर्लाही, महोत्तरी र रौतहट छन् । त्यस्तै, सबैभन्दा कम दरखास्त परेका जिल्लाहरूमा मनाङ, मुस्ताङ, रसुवा, डोल्पा र मुगु जिल्ला रहेका छन् ।  गत वर्षजस्तै यस अवधिमा पनि सबैभन्दा बढी सङ्ख्यामा २१ देखि २५ वर्ष उमेर समूहका उम्मेदवारले दरखास्त दिएका छन्। दरखास्त दिने उम्मेदवारको औसत उमेर २६ वर्ष रहेको छ। प्रकाशित विज्ञापनमध्ये १९३ पदका लागि गरिएका ११४ वटा विज्ञापनबाट कुनै पनि उम्मेदवार उत्तीर्ण भएनन्।

त्यस्तै, २७२ पदका लागि भएका विज्ञापनमा माग भएभन्दा न्यून अर्थात् १३८ जना मात्रै उम्मेदवार उत्तीर्ण भएको जानकारी अध्यक्ष मैनालीले दिएकाे खबर गाेरखापत्र दैनिकमा छ।  आठ वर्षको अवधिमा ६ समावेशी समूहमा १६ हजार ९३९ जना उम्मेदवार सिफारिस भएका छन्। आयोगको कार्यसम्पादनका लागि ७५ करोड ८२ लाख बजेट खर्च भएको छ भने १४ करोड राजस्व सङ्कलन भएको छ। आयोगका अध्यक्ष मैनालीले सार्वजनिक सेवाका लागि दक्ष मानव संशाधन सिफारिस गर्न आयोगले त्रिवर्षीय रणनीतिक योजना कार्यान्वयनमा ल्याएको बताए।