समाचार

सांसद बन्ने योजनाबाट पछि हटे गौतम, काठमाडौं ७ बाट चुनाव नलड्ने

काठमाडौँ । सत्तारूढ नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद बन्ने योजनाबाट तत्कालका लागि पछि हटेका छन् । पार्टीभित्रैको तीव्र विरोध र क्षेत्रका स्थानीय नेता एवं सर्वसाधारणबाट समेत व्यापक आलोचना भएपछि गौतम तत्कालका लागि पछि हटेका हुन् ।

उनले बिहीबार स्थानीय नेताहरूलाई अब आफू तत्कालका लागि सांसद बन्ने योजनाबाट पछि हटेको सन्देश पठाएका छन् । स्थानीय जनमत र पार्टीभित्रको अवस्थालगायतको कारण देखाउँदै उनले तत्काल सांसद बन्ने दिशामा नलाग्ने उल्लेख गरेको स्थानीय नेताले जानकारी दिए । ‘अहिलेको परिस्थिति र प्रतिक्रिया सुन्दा निर्वाचनमा सहभागी हुनेजस्तो वातावरण देखिएन,’ गौतमको भनाइ उद्धृत गर्दै काठमाडौं ७ का ती नेताले भने ।

स्थानीय नेता र काठमाडौंबाट निर्वाचित प्रदेशसभाका सदस्यहरूले बिहीबार गौतमलाई भेटेर छलफल गर्न खोजेका थिए । तर भेट्नका लागि आग्रह गर्नेलाई उनले तत्काल आफू त्यहाँ चुनाव लड्न नआउने जानकारी गराएका थिए ।

तर गौतमकै विषयमा बिहीबार काठमाडौंका प्रदेशसभा सदस्यहरूको भेला भएको थियो । भेलामा तत्कालीन एमाले र माओवादी केन्द्रबाट निर्वाचित सबै प्रदेशसभा सदस्य उपस्थित थिए । ‘हामीले अहिले स्थानीय वस्तुस्थिति बुझा चुनाव गर्नेजस्तो देखिएको छैन,’ काठमाडौं ७ बाट प्रदेशमा निर्वाचित प्रकाश श्रेष्ठले भने, ‘यही अवस्थाबारे पार्टी केन्द्रलाई जानकारी गराउने छौं ।’ चुनावको एक वर्ष नहुँदै उपचुनाव गर्नु जनमतको पनि विपक्षमा हुने श्रेष्ठले बताए ।

पूर्वएमाले र माओवादी केन्द्रको बिहीबारै बसेको जिल्ला कमिटीको बैठकले पनि चुनावको अवस्था नरहेको ठहर गरेको थियो । राजीनामा दिने मनस्थिति बनाएका सांसद मानन्धरलाई आफ्नो निर्णय सच्याउन उनीहरूले सुझाव दिएका छन् ।

‘अहिलेको सन्दर्भमा मुलुकमा चुनाव गर्नुपर्ने कुनै आवश्यकता छैन,’ तत्कालीन एमालेका काठमाडौं अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद कृष्ण राईले भने, ‘रामवीर मानन्धरलाई पनि पार्टीमा दिएको राजीनामा फिर्ता गर्न हामीले अनुरोध गरेका छौं ।’

बुधबार काठमाडौं ७ का प्रदेशसभा सदस्य वसन्त मानन्धर, प्रकाश श्रेष्ठ र पार्टी अध्यक्ष न्हुच्छेकाजी महर्जनले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई भेटेर गौतमका लागि अवस्था प्रतिकूल रहेको ब्रिफिङ गरेका थिए ।

सांसद मानन्धरले नेता गौतमका लागि भन्दै गत सोमबार पार्टी सचिवालयमा राजीनामा बुझाएका थिए । त्यसपछि उनले मंगलबार पत्रकार सम्मेलन गरेर पार्टीले स्वीकृति दिएपछि सांसद पद छोड्ने बताएका थिए । त्यसपछि नेता गौतमको चुनावमा उठ्ने कुराको व्यापक विरोध भएको हो ।

गौतमको चर्चा चलेपछि पार्टीले स्थानीय वस्तुस्थितिको समेत आकलन भयो । स्थानीय नेताहरू नै विपक्षमा उभिएपछि गौतमका लागि अवस्था प्रतिकूल बन्यो ।

पार्टी केन्द्रमा पनि गौतमको विषय विवादित बनेको छ । नेताहरू ईश्वर पोखरेल, भीम रावलमात्र होइन, गौतमसँग निकट मानिएका महासचिव विष्णु पौडेलसमेत यो निर्णयमा सन्तुष्ट छैनन् । पौडेलले बिहीबार सार्वजनिक रूपमै गौतम अब चुनावमा उठ्न नहुने बताएका छन् ।

गत सोमबारको बैठकमा अकस्मात् मानन्धरको राजीनामापत्र अध्यक्ष पुष्पकमल दाहालको हातबाट आएपछि अन्य नेताहरू पनि आश्चर्यमा परेका थिए । स्रोतका अनुसार गौतमलाई सांसद बनाउने विषयमा अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल विरोधमा जान नसक्ने अवस्था थियो । त्यसैले अर्को बैठकबाट निर्णय गर्ने भनेर त्यो पत्र थाती राखियो ।

सचिवालयको बैठक बुधबारका लागि बोलाइयो । तर मंगलबार गौतम उपचुनावमा उठ्ने भनेर सार्वजनिक समाचार र मानन्धरको पत्रकार सम्मेलनले पार्टीभित्र र बाहिर तरंग ल्यायो । सबै क्षेत्रबाट विरोध हुन थाल्यो । त्यसैले पार्टीले बुधबारका लागि निर्धारित सचिवालयको बैठक पनि कात्तिक ४ सम्मका लागि पर सारेको छ । तत्काल बैठक गर्दा गौतमको विषयमा कुनै निर्णय गर्नुपर्ने भएकाले अध्यक्ष ओलीको चाहनामा बैठक पर सारिएको नेकपाका नेताले जनाए ।

प्रतिनिधिसभामा प्रवेश गर्नका लागि गौतमले यसअघि झन्डै दर्जनपटक प्रयास गरेका थिए । तर कतै पनि परिस्थिति अनुकूल नभएपछि काठमाडौं ७ का सांसद मानन्धर उनका लागि सहयोगी बन्न खोजे । परिस्थिति उनको विपक्षमा देखापर्‍यो । त्यसैले उनी तत्कालका लागि सांसद बन्ने दिशामा अघि नबढ्ने निष्कर्षमा पुगेका हुन् ।