पर्यटन/संस्कृति

‘निजगढ विमानस्थल निर्माणको विकल्प छैन’

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बारास्थित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमास्थल निर्माण कुनै पनि बहानामा रोकिन नहुने विज्ञ तथा सरोकारवालाले बताएका छन् ।

‘द्रुतमार्ग, एयरपोर्ट’ निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले आज यहाँ आयोजित पत्रकार सम्मेलनका वक्ताले देशको गरिमा र अर्थतन्त्रलाई कायपलट गर्ने परियोजनाका रुपमा रहेको उक्त विमानस्थल निर्माणका काम तत्काल अघि बढाउन सुझाए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्व महानिर्देशक विरेन्द्रबहादुर देउजाले निजगढ विमानस्थल दूरदृष्टियुक्त परियोजना देशको आर्थतन्त्रलाई नै कायापलट गर्ने परियोजना भएको यसलाई निर्माण अघि बढाउनुको विकल्प नभएको उल्लेख गरे ।

उनले भौगोलिकलगायत विविध समस्याका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा धेरै चुनौतीको सामना बेहोरिएको तथा अन्तर्राष्ट्रिय उडान धान्न नसक्ने भएका कारण चाँडोभन्दा चाँडो निजगढलगायत अन्य अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने धारणा राखे ।

क्यानकै पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले २५ वर्षदेखिको विलम्ब भएको परियोजनालाई अहिले पनि विभिन्न बाधा तथा व्यवधान अघि सारेर योजना नै असफल बनाउने षड्यन्त्र भइरहेको उल्लेख गर्दै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा हवाई मार्गलाई स्थापित गराउन पनि निजगढ विमानस्थललाई शीघ्ररुपमा अघि बढाइनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्वाधार विज्ञ ई डा सूर्यराज आचार्यले एशियाकै उत्कृष्टमा परेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सबैको सहयोग चाहिने खाँचो औँल्याए। उनले वातावरणलाई एउटा कारण देखाएर वातावरणजीवी अहिले निजगढ विमानस्थल निर्माण हुन नदिन चलखेलमा लागेको आरोपसमेत लगाए ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ओम शर्माले विमानस्थल निर्माणका लागि नदी नियन्त्रण, चार किल्लामा तारबार लगाउने र जग्गाको मुआब्जा वितरणको काम भइरहेको जानकारी दिँदै बाहिर आएको हल्लाजस्तो नभई आवश्यकताका आधारमा कम वातावरणीय क्षति हुनेगरी रुख काटिने उल्लेख गरे ।

आगामी पाँच÷सात वर्षभित्र निर्माण सम्पन्न हुने सुनिश्चितताका लागि सरकारसँग माग गर्दै समितिले प्रदेश नं २ बसीले यो आयोजनालाई भाड्न चलखेल र षड्यन्त्र भइरहेको भन्दै स्थानीयस्तरबाट आवश्यक दबाब सिर्जना गरिने जनाएको छ ।

समितिका संयोजक रविराज दङ्गालले वातावरण संरक्षणको बहानामा आयोजना विस्थापित गर्ने खेल भइरहेको भन्दै कुनै पनि बहानामा आयोजना अवरोध गर्न खोजिए कडा सङ्घर्षमा उत्रने चेतावनी दिए । टाँगियाबस्ती सरोकार समितिका तर्फबाट रमेश सापकोटाले विमानस्थलको धावनमार्ग प्रस्ताव गरिएको एक हजार ४७६ घरधुरीको उचित व्यवस्थापनमा सरकारले ध्यान दिए विकास निर्माणमा कुनै अवरोध नहुने स्पष्ट पारे ।