लुम्बिनी

बिपी चोकमा उच्च प्रविधिको बत्ती जडान

नेपालगञ्ज । नेपालगञ्जको बिपी चोकमा उच्च प्रविधिको बिजुली बत्ती (हाइमास्ट) जडान गरिएको छ । सोह्र मिटर उचाइको खिया नलाग्ने फलामे पोलमा जडित आठ वटा बत्ती एक साथ झलमल बालिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले हाइमास्ट निर्माण उपभोक्ता समितिमार्फत सो बत्ती जडान गरेको हो । नेपालमै पहिलोपटक यती उज्यालो र शक्तिशाली हाइमास्ट जोडिएको हो ।

साँझपख आफैँ बल्ने र बिहान आफैँ निभ्ने स्वचालित हाइमास्टको नगर प्रमुख डा धवल शमशेर राणा र उपप्रमुख उमा थापमगरले बत्ती बालेर शुभारम्भ गरे । त्यस अवसरमा नगर प्रमुख राणाले हाइमास्टको सफल प्रयोगपछि थप क्षेत्रमा समेत बत्ती जडान गर्न सकिने विश्वास दिलाए। क्रम्टन कम्पनीको सो बत्ती जडानमा करीब रु १४ लाख लागेको उपभोक्ता समितिका अध्यक्ष निजामुद्धिन सिद्धिकीले जानकारी दिए ।