समाचार

कलङ्की-नागढुङ्गा खण्डमा आज पनि दिनभर बत्ती काटिने, यस्तो छ कारण !

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारमा सहयोग गर्ने लक्ष्यसाथ आज पनि कलङ्की–नागढुङ्गा सडकखण्डमा दिनभर नै बत्ती काट्ने भएको छ ।

प्राधिकरणले आज एक सूचनामार्फत सो क्षेत्रमा बिहान १० देखि साँझ १७ बजेसम्म विद्युत् कटौती हुने बताएको हो । प्राधिकरणका अनुसार ढुङ्गेअड्डादेखि तीनथाना बसपार्कसम्म प्रसारण लाइन सार्नुपर्ने तथा व्यवस्थापन गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको जनाएको छ । स्युचाटार सबस्टेसनबाट सञ्चालित बलम्बु फिडरबाट आपूर्ति हुने क्षेत्रमा विद्युत् काटिनेछ ।

प्राधिकरणका अनुसार तीनथाना, नैकाप, सतुङ्गललगायत क्षेत्र प्रभावित हुनेछन् । सडक निर्माण गर्ने ठेकेदारलाई अविलम्ब कार्य सम्पन्न गर्ने दबाब बढेपछि पछिल्लो समयमा २४ घण्टा नै सडक विस्तारका काम भइरहेकाले प्राधिकरणले विद्युत् प्रवाह कटौती गरेको हो ।