पु.समाचार

कांग्रेसबाट निर्वाचित सांसद साहको हर्कतः गौतम बुद्ध भारतमा जन्मिएका भन्दैँ प्रचारमा

काठमाडौँ । कपिलवस्तुबाट निर्वाचित नेपाली कांग्रेसका सांसद महामानव गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागी भएका खुलासा भएको छ । कांग्रेसको तर्फबाट कपिलवस्तु ३ बाट प्रतिनिधिसभामा निर्वा्चित भएका उनी भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद शाह विशिष्ट अतिथिका रूपमा उपस्थित भएका नयाँ पत्रिका दैनिकले खुलासा गरेको हो । कार्यक्रममा बुद्ध सिद्धार्थनगरमा जन्मिएको दाबीसहित प्रचार गरिएको थियो । उत्तर प्रदेश सरकारले बुद्ध भारतमा जन्मेको आक्रामक प्रचार गरिरहँदा नेपालकै सांसद उपस्थित भएर समर्थन जनाउँदा गलत सन्देश गएको छ ।

कार्यक्रममा मुख्यमन्त्री योगी आदित्यनाथ प्रमुख अतिथि र भाजपा केन्द्रीय सांसद गदम्बिका पाल तथा सांसद शाह विशिष्ट अतिथि थिए । कार्यक्रममा सहभागी भएको तस्बिर शाहले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

कपिलवस्तुवासीको विरोध

कपिलवस्तुवासीले सामाजिक संजालमा सांसद शाहको चर्को विरोध गरेका छन् । ‘नेपालकै सांसदले बुद्ध जन्मस्थल भारत हो भनेपछि अरू के नै बाँकी रह्यो र, अझ कपिलवस्तुकै सांसद,’ जनार्दन पाण्डेले संजालमा लेखेका छन् ।

बुद्धबारे गलत सन्देश प्रचार गर्न आयोजित कार्यक्रममा उपस्थित शाहले परराष्ट्र मन्त्रालय र संघीय संसद्बाट पनि अनुमति लिएका थिएनन् । ‘नेपालका सांसद हुन्, उनले देशको प्रतिनिधित्व गर्छन्, सिमानामा देश जोडिएको छ भन्दैमा चिनी किन्न गएझैँ कार्यक्रममा जान कूटनीतिक मर्यादासम्म नजान्ने केको सांसद ?’ स्थानीय युवा शिव बन्जाडेले भने ।

मुख्यमन्त्रीले निम्तो गर्नुभयो, गएँः सांसद शाह

कसले के प्रचार गरेको छ, मलाई थाहा छैन । म सिद्धार्थनगर जिल्लाको तुलसीपुर क्षेत्रमा रहेको स्कुलमा मूर्ति अनावरण कार्यक्रममा सहभागी भएको हो । मलाई मुख्यमन्त्रीले निम्तो गर्नुभयो, म गएँ। अरू कुरा मलाई थाहा छैन ।