समाचार

नेपाल प्रहरी देश र जनताको सेवामा दैनिक १८ घण्टा खटिएको छः आईजिपी खनाल

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई नमूना सङ्गठनका रुपमा विकास गर्न आफू लागिरहेको बताए । ६३ औँ प्रहरी दिवसका अवसरको कार्यक्रममा बोल्दैँ महानिरीक्षक खनालले भने, “हरेक प्रकारको अपराध नियन्त्रणका लागि नेपाल प्रहरी सक्षम छ, घटनाको अनुसन्धानका लागि समय र धैर्यता आवश्यक छ”, उनले भने ।

महानिरीक्षक खनालले मुलुकको शान्ति सुरक्षाका लागि सबैले आआफ्नो क्षेत्रबाट प्रहरीलाई सहयोग गर्नुपर्ने बताए । सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले दैनिक १८ घण्टा मुलुक र जनताको सेवा गरेको उल्लेख गरे ।

गृहमन्त्रालयबाट जारी भएको ८२ बुँदे गृहप्रशासन सुधार योजनालाई कार्यान्वयन गर्दै आगामी दिनमा नागरिक केन्द्रित कार्यक्रम सञ्चालन गर्न प्रहरी प्रधान कार्यालय लागिरहेको उनको भनाइ थियो । ६३ औँ प्रहरी दिवसका अवसरमा आज ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अमरसिंह शाहले राजनीतिक क्षेत्रबाट प्रहरी सङ्गठनलाई अलग राख्न सके मात्र प्रहरीले सोचेअनुसारको काम गरेर नतिजा दिनसक्ने बताए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले कामको सिलसिलामा यस वर्ष वीरगति प्राप्त गर्ने प्रहरी कर्मचारीका आश्रित परिवारलाई कदरपत्र प्रदान गरेका थिए । यस्तै, प्रहरी श्रीमती सङ्घका अध्यक्ष प्रमिला खनालले वीर प्रहरीका परिवारलाई राहत प्रदान गरेका थिए । कार्यक्रममा यस वर्ष कार्यालय सहयोगी हरिबहादुर गुरुङ, महन्थ चौधरी, प्रहरी जवान राजकुमार आले, शेरसिंह साउद, सुशील बानियाँ, प्रदीपकुमार यादव, रामप्रसाद पौडेल, विष्णुप्रसाद न्यौपाने, प्रहरी हवल्दार गजेन्द्रसिंह ठगुन्ना र प्रहरी सहायक निरीक्षक देवेन्द्रसिंह धामीले कामको सिलसिलामा वीरगति प्राप्त गरेको जानकारी दिइयो ।

सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, महान्यायाधिवक्ता अग्नी खरेल, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, गृहसचिव प्रेमकुमार राई तथा अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि उपस्थित थिए ।