खेलकुद

ए डिभिजन लिग : फ्रेन्ड्स र थ्री स्टार भिड्दै

काठमाडौं । साहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच लिगको चौथो खेल हुँदैछ । खेल बिहान ११ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ ।

प्रतियोगिता सुरु हुने पूर्वसन्ध्यामा थ्री स्टारका प्रशिक्षक मेघराज केसीले लिगको तयारी पूरा भएपनि सुरुवाती खेल सधैं कठिन हुने बताएका थिए । उनले अहिले नै उपाधिबारे सोच्ने समय नभएको बताएका थिए । ‘दाबेदारको रुपमा हेर्दा प्रेसर हुन्छ । लिग जित्ने कोचको रुपमा उदाउन चाहन्छु । लामो समयपछि लिग भएको कारण विपक्षीको बारेमा जानकार छैनौं । पहिलो र दोस्रो राउन्डपछि हामी टार्गेट बनाउनेछौं,’ केसीले थपे । थ्रीस्टारले १० महिनादेखि लिगको लागि तयारी गरेको उनले बताए ।

थ्रीस्टारले लिगको लागि बलियो टोली तयार पारेको छ । राष्ट्रिय टोलीका ४ खेलाडी हाल क्लबमा आबद्ध छन् । एलन न्यौपाने, निराजन खड्का, सुनील बल र अनन्त तामाङले टोलीलाई मजबुती दिएका छन् । रजिन धिमाल, अनिल गुरुङ, रन्जन विष्ट, बुद्ध चेम्जोङ, विजय धिमाल लगायतका घरेलु खेलाडी पनि टोलीमा छन् । विदेशी खेलाडीमा डिफेन्डर पिटर सेगुन र फरवार्ड अजायी मार्टिन्ग्स छन् ।

यता फ्रेन्ड्सका प्रशिक्षक रमेश महर्जनले युवा टोलीलाई डेढ महिना देखि बाग्मती नदी किनारमा प्रशिक्षण गराईरहेका छन् । ‘टोलीले अहिलेसम्म चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । त्यसमा एक दक्षिण एसियाली राष्ट्रको खेलाडीको रुपमा बंगलादेशका खेलाडीलाई अुनबन्ध गरेका छौं । टिममा यू–१८ का खेलाडीहरुको बाहुल्यता रहेको छ । हाम्रो लक्ष्य शीर्ष ६ अथवा शीर्ष आठ भित्र रहने हो,’ उनले भनेका थिए ।

फ्रेन्ड्समा युवा खेलाडी र विदेशीको भरमा मैदान उत्रनेछ । अनुभवी थ्री स्टार खेलमा बलियो भएपनि लिगको हालसम्मको खेलमा कुनै टोलीले सहज जित दर्ता गर्न सकेको छैन । ललितपुरका दुई टोलीको खेल पनि सोहि किसिमको रहने अपेक्षा गर्न सकिन्छ ।