विराटनगर । सवारी दुर्घटना तथ्याङ्कलाई विष्लेषण गर्दा मोरङ जिल्लामा दुर्घटनामा संलग्न अधिकांश सवारी साधनहरु मादक पदार्थ सेवन गरी चलाएको पाइएपछि प्रहरीले कडाई गरेको छ । दुर्घटना न्युनिकरण र सवारी चालकमा सचेतना फैलाउने उद्देश्य अनुसार मोरङ प्रहरीले मादक पद्धार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा लिखित परीक्षा लिन शुरु गरेको छ ।
प्रहरीले मंगलवार जिल्लाका बिभिन्न स्थानहरुमा सवारी साधन चेकजाँच गर्ने क्रममा मापसे गरी सवारी साधन चलाउने मोटरसाईकल ७४, ट्रक २, ट्याक्टर ४, टेम्पो ५ र सिटिसफारी ३ गरी जम्मा ८८ वटा सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ । यसरी पक्राउ गरेको चालकलाई ट्राफिक प्रहरीले २४ घण्टे पुर्जी दिएर परिक्षाको लागि जिल्ला प्रहरी कार्यालतय मोरङमा पठाएकोमा ३० जना सवारी चालकहरु लिखित परिक्षामा सहभागी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।