पर्यटन/संस्कृति

अर्घाखाँचीमा धार्मिक तथा शैक्षिक मेला

काठमाडौंँ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँचीको कालिका नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आजदेखि शुरु हुने ‘शैक्षिक तथा धार्मिक मेला’को ब्यानरको लोकार्पण गर्दै उक्त मेलालाई सफल बनाउन आग्रह गरे । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता रायमाझीले भने ‘यस्ता महोत्सवले शैक्षिक तथा अन्य धार्मिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँछ ।’ फरक प्रसङ्गमा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको काम सुस्त छ भन्दै अब ‘गियर’ बदल्नुपर्ने बताए । उनले सरकारले विकास र समृद्धिको एउटा मार्गचित्र निर्माण गरेर द्रुत गतिमा देशलाई अगाडि बढाउनुपर्ने धारणा राखे ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले महोत्सवले हिन्दू धार्मिक क्षेत्रको पहिचानलाई प्रस्फुटित गर्ने बताए ।
राष्ट्रिय शान्ति पितृ मोक्षका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, सहस्र शालिग्राम पूजा र ११०० शान्ति कलश पूजन आयुर्वेदिक औषधबारे पनि महोत्सवमा प्रवचन गरिने जनाइएको छ । यही असोज ३१ गतेसम्म चल्ने महायज्ञमा पं नरेश नेपालले भागवत गीता वाचन गर्ने बताइएको छ । शैक्षिक तथा धार्मिक सप्ताह ज्ञान महायज्ञमा दाताबाट प्राप्त दान कालिका नेरामावि प्राविधिक शिक्षा तथा सुविधासम्पन्न विद्यालय सञ्चालनमा खर्च गरिने बताइएको छ ।