प्रदेश 2

बडादशैँ सुरु भएसँगैँ शक्तिपीठमा दर्शनार्थीको ओईरो

राजविराज । बडादशैँको अवसरमा यहाँका दुई शक्तिपीठमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । आज घटस्थापनाको दिन छिन्नमस्ता शक्तिपीठ र भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

भक्तजन पूजापाठ गर्न बिहानैदेखि लाइनमा लागेको छिन्नमस्ता मन्दिरका पिठाधीश एवं मूलपुजारी महाकान्त ठाकुरले बताए । सप्तरी सदरमुकाम राजविराजस्थित भगवती मन्दिर र हुनुमाननगर कङ्कालनी नगरपालिका–१ भारदहमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ । भारतबाट समेत यहाँ सयौँको सङ्ख्यामा दर्शनार्थी आएका छन् । विजयदशमीको अवरसमा छिन्नमस्ता भगवती र कङ्कालनी मन्दिरमा खसी र बोकाको बलि दिने चलन छ ।

घटस्थापनाका दिन आज गहुँ, जौको जमरा राखी माता भगवतीलाई अपर्ण गरी प्रसादका रुपमा लगाइन्छ । गहुँ तथा जौको नवअङ्कुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने पौराणिक मान्यता रहेको पण्डित रामकुमार शास्त्रीले बताउनुभयो । जमराको रस खाए विभिन्न रोग निको हुने मान्यता छ ।