प्रदेश 1

पिप्लेमा पहिलो पटक बस पुग्यो

तेह्रथुम । म्याङलुङ नगरपालिका–४ पिप्लेमा पहिलो पटक बस पुगेको छ । गाउँसम्म पुग्ने सडक स्तरोन्नति गरिएपछि गाउँबाटै दैनिक बस सेवा शुरु भएको हो । म्याङलुङ बसपार्कदेखि पिप्लेको जनता आधारभूत विद्यालयसम्म दैनिक बस सेवा शुरु भएको वडाध्यक्ष रामबहादुर खड्काले बताए ।

मङ्गलबार पिप्लेमा पहिलो पटक बस पुगेको हो । दैनिक बेलुका ४ बजे बसपार्कबाट र बिहान ७ बजे पिप्लेबाट बस छुट्ने तेह्रथुम बस काउन्टरका प्रमुख डिल्ली रेग्मीले बताए । गाउँसम्मै दैनिक बस पुग्न थालेपछि गाउँबाट बजार आवतजावत तथा पूर्वी तराईसम्म जान सहज हुने भएको छ ।

सदरमुकाम नजिकै रहेको पिप्लेमा वर्षौअघिनै सडक निर्माण भए पनि हालसम्म बस सेवा पुगेको थिएन । वर्षाले क्षतिग्रस्त सडक मर्मत भएपछि अहिले म्याङलुङबाट फेदाप गाउँपालिकाको इसिबुसम्म, जिरीखिम्तीबाट मोराहाङसम्म र छथर गाउँपालिकासम्म पनि दैनिक बस सेवा सञ्चालन भइरहेको छ ।

अङ्ग्रेजी माध्यमले बढायो विद्यार्थी

तेह्रथुमको म्याङलुङ नगरपालिका–६ सर्कुेस्थित सरस्वती आधारभूत विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्न थालेपछि विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको छ ।

विद्यालयले यही वर्षबाट कक्षा २ सम्म अङ्ग्रेजी माध्यमको पढाइ अनिवार्य गरेको छ । अङ्ग्रेजी कक्षा सञ्चालनका लागि भवन निर्माण गर्न स्थानीय अभिभावकले नगद तथा जिन्सी सहयोग गरी कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक वीरेन्द्र मण्डलले बताए । विद्यालयका अभिभावक र शिक्षाप्रेमीबाट रु तीन लाख १६ हजार सङ्कलन गरी विद्यालयले भवन निर्माण गरी अङ्ग्रेजी माध्यमको पढाइ थालेको हो ।
कक्षा ८ सम्म पढाइ हुने सो विद्यालयमा अहिले २०० विद्यार्थी छन् ।