उर्जा

साप्सुखोलाबाट विद्युत् उत्पादन गरिने

खोटाङ । थ्रीस्टार हाइड्रोपावर कम्पनी भक्तपुरले खोटाङको साप्सुखोलाबाट ७ दशमलव १५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने भएको छ । रु एक अर्ब ५० करोड लगानीमा उत्पादन हुने जलविद्युत्का लागि राष्ट्रिय वाणिज्य बैंकको ७० र उपभोक्ताको ३० प्रतिशत शेयर लगानी रहने जनाइएको छ ।

दुई वर्षभित्र सम्पन्न गर्ने गरी काम थालिएको साप्सुखोला जलविद्युत् हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सिमानास्थित बेलडाँडाबाट उत्पादन गरिने हाइड्रोपावर कम्पनीका अध्यक्ष कुमार खरेलले बताए । “विद्युत् उत्पादनका लागि प्राधिकरणसँग पिपिए गरिसकिएको छ ।” उनले भने, “दशैँ तिहारपछि काम अगाडि बढाउने तयारीमा लागेका छौँ ।”

कूल आम्दानीको दुई प्रतिशत स्थानीय तहलाई दिने गरी काम थालिएको जलविद्युत् उत्पादनको काम अहिलेसम्म १० प्रतिशत सम्पन्न भएको जनाइएको छ । जलविद्युत् उत्पादनका लागि ८५ रोपनी सरकारी र ४७ रोपनी निजी जग्गा खरिद गरेर कम्पनीको नाममा पास गरिसकिएको आयोजना प्रमुख जेनिश लामाले बताए ।

दश स्थानीय तह रहेको जिल्लामा साना ठूला गरी डेढ दर्जन बढी हाइड्रोपावर सञ्चालनमा छ । तत्कालीन जिल्ला विकास समितिले आर्थिक वर्ष २०६३÷६४ मा उक्त हाइड्रोपावरलाई एकीकृत गर्दै पाँच वर्षभित्र जिल्लालाई अन्धकारमुक्त बनाउने गरी आवधिक योजना बनाए पनि कार्यान्वयन भएको छैन ।