लुम्बिनी

१४ वर्षीया आफ्नै छोरीलाई बाबुले गरे पटक–पटक बलात्कार !

रोल्पा । रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । रोल्पा नगरपालिका–६ की ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको हो । गत भदौ २७ देखि आफू लगातार तीन पटक बलात्कारमा परेको बालिकाले बताएकी छिन् ।

आमाको मृत्युपछि बाबुले पटक–पटक बलात्कार गरेपछि बालिका भागेर दाङमा रहेको आफन्तकोमा पुगेकी थिइन् । आफन्तसँग आफू बाबुबाट पटक–पटक बलात्कृत हुने गरेको जानकारी दिएसँगै घटना सार्वजनिक भएको हो । बलात्कृत बालिकासँगै आफन्तले रोल्पामा रहेका महिला अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी दिएपछि आरोपीलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४३ वर्षीय आरोपीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासतमा राखेका छौँ, प्रहरी प्रवक्ता सुदर्शन पन्थीले भनिन् ।

पछिल्ला दिनमा जिल्लामा बलात्कारका घटनामा वृद्धि भइरहेको अधिकारकर्मी तुलसा आचार्यले बताए । हिंसापीडित महिलाको अल्पकालीन आश्रयका लागि खोलिएको केन्द्रमा सेवा लिन आउनेमध्ये अधिकांश बलात्कारमा परेका महिला रहेका छन्, आचार्यले भने ।