समाचार

पीडित पक्षलाई चाँडो न्याय दिलाउन फाष्ट ट्रयाकमा फैसलाः महान्यायाधिवक्ता खरेल

काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयको नयाँ भवनको आज यहाँ शिलान्यास गरिएको छ । रामशाहपथस्थित पुरानो भवन रहेको ठाउँमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सो भवनको शिलान्यास गरे ।

पुरानो भवन भूकम्पका कारण चर्किएपछि महान्यायाधिवक्ता कार्यालयले नयाँ भवन बनाउन थालेको हो । महान्यायाधिवक्ता खरेलले कार्यालयले बलात्कार र हत्याजस्ता गम्भीर प्रकृतिका मुद्दालाई द्रुतगतिमा टुङ्ग्याउने गरी काम अगाडि बढाइएको बताए । गम्भीर प्रकृतिका मुद्दामा जतिबेला पनि अभियुक्त, जाहेरीवाला र विशेषज्ञलाई अदालतमा उपस्थित गराएर समयमै मुद्दा टुङ्ग्याउन देशभरका सरकारी कार्यालयलाई निर्देशन दिएको उनले बताए ।

“गम्भीर प्रकृतिका कसुरमा पीडित पक्षलाई चाँडो न्याय दिलाउन दु्रतगतिमा फैसला गर्न भनेका छौँ,” उनले भने। उनले नयाँ मुलुकी संहितामा समेटिएका नयाँ विषयवस्तुबारे कर्मचारीलाई तालीम दिइने जानकारी दिए ।

नायब महान्यायाधिवक्ता खगराज पौडेलले नयाँ भवन बनेसँगै न्याय सम्पादनमा सहयोग पुग्ने बताए । नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले महान्यायाधिवक्ताको कार्यालय र बार मिलेर न्यायप्रणालीमा सुधार गर्नुपर्ने बताए । उनले छरिएर रहेका अनुसन्धानलाई संविधान संशोधन गरेर भए पनि एकीकृतरुपमा महान्यायाधिवक्ता मातहतमा ल्याउनुपर्ने बताए । पुरानो भवन २०२९ सालमा निर्माण गरिएको हो ।

आठ रोपनीमा निर्माण हुन थालेको भवन सात तलाको हुनेछ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्लास्तरीय परियोजना कार्यान्वयन एकाइले शर्मा÷समानान्तर जेभी काठमाडौँसँग रु ७० करोड ९५ लाख ६७ हजारमा भवन निर्माण गर्न सम्झौता गरेको आयोजना प्रमुख लिला खतिवडाले जानकारी दिए । सो कम्पनीले २०७७ पुस मसान्तसम्ममा भवन निर्माण गरिसक्ने छ ।