गण्डकी प्रदेश

धरौटी तिर्न नसक्दा रिहा भए पनि थुनामै

पर्वत । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा १३ वर्षीया बालिका बलात्कार प्रयास गरेको अभियोग लागेका एक युवा रु दुई लाख धरौटीमा रिहा भए पनि आर्थिक अभावले कारागार चलान भएका छन् ।

घरमा सुतिरहेकी बालिकालाई बलात्कार प्रयास गरेको अभियोग लागेका कुश्मा नगरपालिका–२ का २० वर्षीय विनोद नेपाली पुर्पक्षका लागि रु दुई लाख धरौटीमा छुटेका हुन् ।

पर्वत जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले मङ्गलबार नेपालीलाई रु दुई लाख धरौटीमा छाडेर अनुसन्धान गर्न आदेश दिएको थियो । अभियुक्त नेपाली रु दुई लाख बुझाउन नसकेपछि पर्वत जिल्ला कारागारमा थुनामा छन् ।

अदालत बुधबारदेखि बिदा हुने भएकाले धरौटीमा छाड्ने आदेश भए पनि अभियुक्त नेपालीले दशैँ बिदामा पनि कारागार बस्नुपर्ने भएको छ । नेपालीले गएको भदौ २७ गते सोही ठाउँकी १३ वर्षीया बालिका घरको बारदलीमा सुतिरहेको अवस्थामा घरको भित्ता र खम्बा हुँदै बारदलीमा चढेर मुख थुनी जबर्जस्ती यौन क्रियाकलाप गर्न खोजेको अभियोगमा असोज ८ गते जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको थियो ।

बालकलाई बलात्कार अभियोगमा सुधारगृह पठाइयो

तपाईँ कल्पना पनि गर्न सक्नुहुन्न, १२ वर्षीय बालक पनि बलात्कार जस्तो अपराधमा संलग्न हुन्छ भनेर । तर मुलुकभर बलात्कार र हत्याका घटना भइरहेका बेला छ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा १२ वर्षे बालक पुर्पक्षका लागि बाल सुधारगृह चलान भएका छन् ।

बालिका बलात्कार अभियोगमा १२ वर्षे बालक पर्वत जिल्ला अदालतको मङ्गलबारको आदेशले पुर्पक्षका लागि सुधारगृह चलान भएका हुन् । जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको आदेशले बालकलाई बाल सुधारगृह सराङ्कोट कास्की पठाइएको छ ।

पर्वतको जलजला गाउँपालिका–३ का ती बालकले असोज २ गते छिमेकमा डेरा गरी बस्ने छ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप पीडित बालिकाले लगाएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो । पीडित बालिकाको मेडिकल रिर्पोटमा समेत बलात्कार भएको देखिएको छ । प्रहरीले जबर्जस्ती करणी मुद्दाअन्तर्गत उजुरी दर्ता गरेको थियो । मुद्दा दर्तापछि प्रहरीले बालकलाई अभिभावकको संरक्षण तथा निगरानीमा रहने गरी घर पठाएको थियो ।