खेलकुद

फुटबल टोलीलाई जनही पचास हजार

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भूटानमा भएको साफ यू–१८ फुटबल च्याम्पियनसिपमा उपविजेता बन्न सफल भएको नेपाली महिला टोलीका प्रत्येक सदस्यलाई जनही रु ५० हजार दिने घोषणा गरेको छ ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले यू–१८ महिला राष्ट्रिय फुटबल टोलीका प्रत्येक सदस्यलाई जनही रु ५० हजार दिने निर्णय गरेको हो । यही असोज २१ गते भएको फाइनल खेलमा नेपाली टोली बङ्गलादेशसँग १–० गोल अन्तरले पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो ।

त्यस्तै सेमिफाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्दी भारतलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । नेपाली महिला फुटबल टोली आज स्वदेश फर्कने एन्फाले जनाएको छ ।