राजनीति

रामविरले गरे राजिनामा घोषणा, बर्दियाबाट हारेका वामदेवका लागि बाटो खुल्यो

काठमाडौँ . काठमाडौँ क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद रामविर मानन्धरले आफूले वामदेव गौतमका लागि सिट खाली गरेकोबारे स्पष्टीकरण दिएका छन् । सांसद मानन्धरले आफूले कसैको दबाबमा नपरी राजिनामा दिएको स्पष्टीकरण दिएका हुन् ।

आफूले पार्टीलाई राजिनामा पत्र बुझाईसकेको र बाहिर टिकाटिप्पणी भएजस्तो कसैको दबाबमा परि राजिनामा नदिएको उनले बताए । नेता गौतमलाई आफूले नै प्रस्ताव गरेको बताए ।

यसबारे मानन्धरको विभिन्न टिकाटिप्पणी हुन थालेपछि मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै स्पष्टिकरण दिएका छन् ।

यो सँगै बर्दिया १ बाट पराजित सत्ताधारी दल नेकपाका नेता वामदेव गौतमलाई संसदमा छिराउने योजनाअनुसार काठमाडौं–७ बाट उपचुनाव लडाउने तयारी नेकपाले गर्नेछ ।

अब हुने उपनिर्वाचनमा वामदेवको प्रतिस्पर्धीका रुपमा नेपाली कांग्रेसबाट कसलाई सार्ने भन्नेबारे पार्टीमा छलफलपछि निर्णय गरिने बताईएको छ ।