शिक्षा

उत्पादनमुखी शिक्षाले स्वरोजगार सिर्जना गर्ने

काठमाडौँ । जनप्रभात माध्यमिक विद्यालयले कक्षा ११ र १२ सञ्चालनका लागि रु ६५ लाखको लागतमा नयाँ भवन बनाएको छ । विद्यालयले सञ्चालन गर्न लागेको नयाँ कक्षाका लागि बनाइएको दुई तले उक्त भवनमा चार कोठा छन् । काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले भवनको उद्घाटन गर्दै महानगरभित्रका सामुदायिक विद्यालयमा निःशुल्क भर्नाको व्यवस्था भएपनि विद्यार्थी सहभागिता बढ्न नसकेकाले अनिवार्य भर्ना अभियान चलाउनुपर्ने बताए । सामुदायिक विद्यालयले राम्रो पाठ्यक्रमको विकास गरी निजी विद्यालयसँग गुणस्तरीय प्रतिस्पर्धा गर्न उनले सुझाव दिए ।

विद्यालयका अध्यक्ष रामशरण डङ्गोलले शिक्षाका माध्यमबाट समाजमा शान्ति स्थापना गरी आर्थिक विकास र समृद्धि कायम गर्न सकिने बताए । विसं २००८ मा स्थापना भएको सो विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुने गरेको छ । माध्यमिक तहमा विद्यार्थीको आकर्षण बढ्दै गएको उक्त विद्यालयमा ५५४ विद्यार्थी तथा ४९ शिक्षक छन् ।