लुम्बिनी

कामको दायरा बढाउँदै हुलाक

घोराही । कुनै समय चिठीपत्र मात्रै बोक्ने हुलाकले हिजोआज अन्य विभिन्न काममा आफ्नो सेवा विस्तार गरेको छ । पहिले चिठीपत्र र पार्सल बोक्ने मात्रै होइन हुलाकले हिजोआज हुलाक बचत बैंक, धनादेश सेवा (घरमै पैसा पु¥याउने), पोस्ट बक्स सेवा, लोकसेवा आयोगको दर्खास्त फारम सङ्कलनको काम, पत्रपत्रिका, रेडियो,टेलिभिजन दर्ता, नवीकरण, पत्रपत्रिका पु¥याउने पठाउने गरिरहेको छ ।

त्यत्ति मात्र होइन नेपाल सरकारले हुलाक कार्यालयको नेतृत्वमा प्रत्येक सरकारी कार्यालयमा सूचना अधिकारी भए/नभएको, भए पनि आफ्नो जिम्मेवारीअनुसारको काम गरे/नगरेको र प्रत्येक तीन महीनामा सरकारी कार्यालयले प्रगति प्रतिवेदन तयार पारे/नपारेको अनुगमन गर्ने जिम्मा दिएको छ । पछिल्लो समय इन्टरनेटको कारण व्यक्तिबीचको कुराकानी सहज भएपछि हुलाकमा चिठीपत्र पठाउने ह्वात्तै घटेका छन् तर हुलाकको कामको सीमा क्षेत्र भने बढेको हुलाक कार्यालयको भनाइ छ ।

“व्यक्तिगत चिठीपत्र मात्र घटेका हुन्”, जिल्ला हुलाक कार्यालय दाङका प्रमुख बस्नेतले भने, “सरकारी र सङ्घसंस्थाको चिठी पहिलेभन्दा धेरै आउँछ ।” अहिले दाङमा एउटा प्रदेशस्तरीय हुलाक कार्यालय, १४ इलाका हुलाक सेवा र ३० अतिरिक्त हुलाक सेवा सञ्चालनमा छन् । जिल्लाभरि करीब स्थायी, करार र अतिरिक्त गरी १८० कर्मचारी खटिएका छन् । यति धेरै कर्मचारी हुँदा पनि हुलाकले कर्मचारी अभावको महसुस गरिरहेको छ ।

हुलाक कार्यालयका अनुसार दैनिक २०० देखि ५०० सम्म पत्रपत्रिका पु¥याउनुपर्छ भने ४० देखि ८० सम्म सङ्घसंस्था र सरकारी कार्यालयका चिठी हुन्छन् । आर्थिक वर्ष २०७४/७५ मा मात्र हुलाकले रु ५६ लाख ७५ हजार राजश्व सङ्कलन गरेको छ । हुलाक टिकट बिक्री, पार्सल भुक्तानी, रेडियो रोयल्टी, पत्रिका, नवीकरण, केबुल नवीकरण तथा रोयल्टी, टेलिसेन्टरको आम्दानी, काउन्टर मशिनको आम्दानी, एफएम रेडियो लाइसेन्स नवीकरण र अन्य प्रशासनिक सेवाबापतको उक्त राजश्व सङ्कलन गरेको हो ।

१४४ औँ हुलाक दिवस

यसैबीच सरकारले यस वर्षको १४४ औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रमको आयोजना गरी असोज २२, २३ र २४ गते मनाउन मातहतका कार्यालयलाई निर्देशन दिइएको बुझिएको छ । “समावेशी विकास समुन्नत अर्थतन्त्रको लागि सुदृढ हुलाक’ भन्ने मुख्य नाराका साथ यस वर्षको हुलाक दिवस मनाइन लागिएको छ ।