खेलकुद

टी–ट्वान्टी विश्व कपको एसिया छनोटमा नेपाल र भुटान भिड्दै, फाइनल प्रवेश गर्ने दाउमा नेपाल

काठमाडौं । टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा मंगलबार नेपालले कमजोर मानिएको राष्ट्र भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

मलेसियाको युकेएम क्रिकेट ओभलमा स्थानीय समयअनुसार विहान १० बजे नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । कमजोर मानिएको टिम भुटानलाई पराजित गरे नेपाल दुई खेलखेल्नु अघि नै टी–ट्वान्टी विश्वकपअन्तर्गत एसिया छनोटको फाइनल राउण्डमा प्रवेश गर्नेछ । नेपाल आफ्नो अपराजित यात्रालाई कायम राख्दै फाइनल राउण्डमा प्रवेश गर्ने दाउमा रहेको छ ।

नेपालले यसअघि आफ्नो पहिलो खेलमा म्यानमारलाई ८ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा पनि नेपालले आयोजक मलेसियालाई ८ विकेटले नै पराजित गरेको थियो । तेस्रो खेलमा भने थाइल्यान्डलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको थियो ।

नेपाल ३ खेलमा शतप्रतिशत जित हात पार्दै ६ अंक बटुलेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालभन्दा नेट रनरेटको आधारमा पछि पर्दै दोस्रो स्थानमा रहेको सिंगापुरको पनि समान ३ खेलबाट ६ अंक छ ।

तेस्रो स्थानमा रहेको थाइल्यान्डको ५ अंक रहंदा आयोजक मलेसियाको ३ अंक छ । त्यस्तै, पाँचौ नम्बरमा रहेको भुटानको २ र छैटौं स्थानमा रहेको म्यानमारको पनि २ अंक छ ।

४ खेलमा कुनै पनि खेल जित हात पार्न नसकेको चीन भने बाहिरिसकेको छ । यो समूहबाट शीर्ष ३ राष्ट्र टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको फाइनल चरणमा पुग्नेछन् ।