साहित्य

  सुनछहरीका बाछिटा

— खगेन्द्र गिरि ‘कोपिला’

हेमन्त ऋतुको चिसो दिन । सिरक ओढेर ओछ्यानमैं गुट्मुटिदै बसिरहुँ जस्तो अल्छिलाग्दो छ वातावरण । एकाबिहानै लमहीबाट छविलाल कोपिलाको फोन आयो —‘मिटवा ! आज टो सुनछहरी जैना डिन हो । याड बा कि नाइँ?’
‘याड बा याड बा मिटवा, हम्रे निकर्टी बाटी’ मैले हतारमैं उत्तर फर्काएँ । ‘जै गुर्बाबा’ भन्दै फोन राखें र निस्किएँ घरबाट ।
बाहिर बाक्लो हुस्सुको साम्राज्य फैलिएको छ । पुसमाघको यही शीतवर्षालाई हेरेर, भोगेर, हिमाली हिउँको तिर्सना मेट्छौं हामी नेपालगञ्जियाहरु । हिमाली प्रदेशमा चल्ने बेगवान वायुजस्तो यहाँको सिरेटो नभए पनि नेपालगञ्जको हुस्सु भनेपछि नेपालगञ्जको हुस्सु हो । कसैले जित्न सक्दैन यसको घनत्वलाई । हुस्सुले अझैं शीत पोखिरहेकै छ ।

शीतको चिसो स्पर्श आँखैनिर आएर काउकुति लगाउन थाल्यो । आकाश उस्तै गमक्क परेको छ । चिसो बतास छिनछिनमा चञ्चल बन्दै मुटुमैं पुगेर चिमोटुँला जस्तो गर्छ । नेपालगञ्ज शहरको कल्याङ्मल्याङ शुरु नहुँदै महेन्द्र रोका, कमल बडुवाल, प्रकाश संगम, श्रीधर भण्डारी र यो पङ्क्तिकार गरी पाँच जनाको टोली पुष्पलालचोकमा भेला भएर पूर्व लाग्यो ।

कोहलपुरबाट पूर्वतर्फ कुद्धै गर्दा बाटो वरपर मानव चहलपहलको घुर्मेलो छाया देखिन थाल्यो । जंगलभित्रका दृश्य भने हुस्सुले छेकिएका छन् । यद्यपि यो सडकको यात्रा चिरपरिचित नै हो तर आज भने कताकता नयाँ—नयाँपनको आभास पो हुँदैछ । हुस्सुमा डुबेको सिक्टाको फाँट र कुसुमको जङ्गल आज एकदमै नौला लागिरहेका छन् । जीवनका हरेक घडी र हरेक दृश्यहरु हरेक पल नयाँ लागिरहनु पनि संसारको रित नै हो । हामी मान्छे त्यही रितको निरन्तरताका पथिक हौं ।

अमिलियामा भेटिए तुल्सीपुर र लमहीबाट आएका साथिहरु । नीमबहादुर दाजु, छविलाल मिटवा, बलबहादुर जिएम, आशिष कल्पवृक्ष, भावना न्यौपाने र अभि क्षत्रीको आत्मियता पोखिएर मिलनको क्षण सुगन्धित बन्यो । ओहो ! पृति प्रतिक्षा र पुष्पा केसी पनि आएका रहेछन् आफ्ना दुई जना बहिनी सहित ।
खाना खाएर अमिलियाबाट हिड्दा साढे दश बजिहाल्यो । पन्ध्र जनाको बन्यो हाम्रो डफ्फा । हुस्सुले ढाकिएको आकाशलाई च्यातेर धर्तीतिर चियाउन थालेका छन् सूर्यनारायण ।

आकाशतिर आँखा लगाउँदै, मौसमसंग केही सशंकित हुँदै हिंडियो अमिलियाबाट । आधा घण्टामा जलकुण्डी पुग्यौं हामी । साँगुरा पहाडको खोंचमा, चुरेको भावरभित्र हराएको एउटा सानो गाउँ हो जलकुण्डी तर आज हाम्रा आँखा संसारका सबै गाउँ, ठाउँभन्दा विशेष र कुतुहलतापूर्ण लागेर जलकुण्डीपट्टि सोझिएका छन् । महेन्द्र राजमार्गको डिलबाट ओर्लिएर दक्षिणपट्टि झर्दा जलकुण्डीको तोरी बारीको ठूलो फाँट देखियो । सडक नजिक दुईचार ओटा घरमात्रै थिए तर दक्षिणतिर हिड्दै जाँदा भने राप्तीको बगरैसम्म फैलिएका जलकुण्डी र स्याला नामका दुईओटा गाउँका छरपष्ट बस्ती देखिए । रसिला र फराकिला खेतबारीहरु लमतन्न सुतेका छन् छातीभरि तोरीका बोट उभ्याएर ।

आफ्नो उज्यालो कतै लुकाएर टुलुटुलु हेरिरहेको सूर्य आज अलि सुस्ताएको छ । मनभरी सुनौला उत्सुकता बोकेर हामी खेतको आलीआली हिडिरेहका छौं । जलकुण्डीबाट दुई किलोमिटर जति हिडेपछि राप्तीको ढिकमा आइपुग्यौं । यतातिर डिललाई ढिक भन्दा रहेछन् । फराकिलो बगर भएको राप्ती नदी यहाँनिर निकै साँगुरो पायौं । यही साँगुरो ठाउँका वारिपारिका ढिस्कालाई जोडेर बनेको झोलुङ्गे पूलले राप्ती पारिका अनकन्टार बस्तीहरुलाई महेन्द्र राजमार्गको चहलपहलसंग जोडेको छ ।
राप्तीका छालहरुले साँगुरो बगरलाई चुमिरहेका दृश्य माथिको झोलुगे पुलबाट हेरेर मात्रै मन अघाएन । तल बगरसम्मै पुगेर पानी छोएपछि मात्रै मन तृप्त भयो । पूर्ण भयो ।

बगरभरी छरिएको नाङ्गो बालुवा राप्तीको अजम्बरी यात्राका कथाहरु भनिरहेको छ । नाङ्गो पानी, नाङ्गा ढुङ्गा, अनि बगर पनि नाङ्गै छ । राप्तीको यो नाङ्गो परिवेशले मान्छेलाई मौन हाँक दिईरहे जस्तो लाग्यो— ‘मेरो नग्नताभित्र छोपिएको उर्जाशक्तिले सारा देशलाई झिलीमिली बनाउन सक्थ्यो, तर तिमीहरु केवल मेरो नाङ्गो छालमा आफ्ना नाङ्गा आँखा पोखेर मात्रै तृप्त हुन्छौ । अनि म आफ्नो नाङ्गो सौन्दर्यको जलराशी बोकेर नाङ्गो यात्रामा एकोहोरो बगिरहन अभिशप्त छु, सक्छौ भने आऊ मान्छेहरु ! मलाई छेक, थुन, बाँध बाध, मलाई नाङ्गो नहरमा खन्याएर लैजाऊ काकाकुल भएको उष्ण धर्तीका गरागरासम्म । अनि मलाई नाङ्गो तारमा झुण्ड्याएर लैजाऊ अन्धकार बस्तीहरुमा । म नाङ्गो भएर पनि तिमी मान्छेहरुको नाङ्गोपनलाई छोप्ने शक्ति छ मसंग’ । मनले एक तमासले राप्तीको मौन आक्रोश सुनिरह्यो ।

‘आउनुहोस् कोपिलाभाइ सेल्फी हानौं’ नीमबहादुर थापादाजुको आमन्त्रणले मेरो मनको लय भंग भयो ।
झोलुङ्गे पुलको बीचमा र वारिपारि पुलको छेऊमा उभिएर अनेक पोजका फोटो खिचे अभि क्षत्री र श्रीधर भण्डारीले । कोही पुल हल्लाएर हँसाउन थाले, कोही चिच्याएर रमाइलो गर्न थाले । ‘मन खुसी छ भने जे गर्दा पनि रमाइलो हुँदो रहेछ हैन अंकल’ प्रकाश संगमले निक्र्यौल निकाले । ‘मनलाई खुसी बनाउन पनि सक्नु पर्छ’ प्रीति प्रतिक्षाले थपिन् ।

अगाडीको बाटोको बारेमा हामी सबै अनभिज्ञ छौं केवल हाम्रो आजको गन्तव्य सुनछहरी हो भन्ने मात्रै थाह छ हामीलाई । ‘पारिपट्टि ढिकढिकै दायाँ जानु भयो भने हाडबास आउँछ, बायाँ जानु भयो भने गोठुवा पुगिन्छ, गोठुवाबाट सुनछहरी जाने बाटो भेटिन्छ’ एकजना बटुवाले बाटो देखाइदिए । हामी पुल तरेर बायाँ लाग्यौं । राप्तीको किनारैकिनार भरखरै डोजर लगाएर खोस्रिएको बाटोमाथि पन्ध्र जनाको हाम्रो टोली हिडेपछि धुलो उड्न थाल्यो ।

गोठुवा भन्ने सानो गाउँ आयो बाटोमा । वरैबाट मानिसको सिलिङबिलिङ देखियो । धुलाम्य बनेको छ वातावरण । एउटा डोजर गाउँको छेउतिरको पहाड खोस्रेर बाटो बनाउँदै छ । त्यो बाटो बनेपछि आफ्ना सुदिन आउने छन् भन्ने अव्यक्त खुसीले पुलकित बनेका गाउँलेका आँखा डोजरपट्टि एकटकले सोझिएका छन् । हाम्रो हुल देखेपछि उनीहरुको कुतुहलता हामीतिर सोझियो । विकासको कुनै अर्को योजना लिएर आएका हुन् कि क्या हो भन्ने जिज्ञासाका थुप्रै प्रश्न हामीमाथि तेर्सिए ।
नीमबहादुरदाजु गाउँलेसंग कुराकानी गर्न अग्रसर हुनु भयो । जहाँ पुगे पनि उहाँले चिनेको कोही न कोही भेटिइहाल्छ । यहाँ पनि भेटियो एकजना ।

‘ए पत्रकार रहेछन्’ हुलबाट कोही बोलेको आवाज आयो ।
‘पत्रकार होइनौं हामी, केवल डुलुवा हौं’ भन्दा कसैले पत्याएनन् ।

गोठुवाबाट पूर्व जाने फराकिलो बाटो छोडेर दायाँ लाग्यौं । एउटा सानो खोल्सो तरेर उकालो लाग्यौं । एकछिन उकालो, फेरि ओरालो । फेरि अगाडि सानो खोल्सो भेटियो । त्यसैको छेवैछेवै हिडिरह्यौं । एक ठाउँमा सारै अफ्ठ्यारो बाटो आयो । बाटोलाई पहिरोले भताभुङ्ग पारिदिएको छ । माथिबाट फुसफुस खरानीजस्तो सेतो माटो र ससाना मोरङ् झरिरहेका छन् । दुईटा खुट्टा मुस्किलले अट्ने साँगुरो बाटो भएर पारि पुग्न सकस नै प¥यो । सबैभन्दा गाहारो भावना न्यौपानेलाई भयो । बीचैमा पुगेर म त पारि जान सक्दिन भनेर रुन थाल्नु भो । हाम्रै आँखा अगाडि पिठ्युमा ठूलठूला बोरी बोकेर हिडिरहेका दुईटी महिला भावना न्यौपानले रोएको देखेर हाँस्न लागे ।

‘भो भो स्वाङ नपार्नु’ भन्दै श्रीधर भण्डारीले भावनाजीको हात समातेर पहिरोको बाटो पार गराइदिए ।
केही बेर बाक्ला रुखहरुले ढाकिएको खोल्सोको छेवैछेउ हिडिरह्यौं । खोल्सोको बाटो छोडेर देब्रेतिर उक्लिदा एउटा उज्यालो गाउँका दृश्यहरु आँखामा ठोक्किए । हुस्सुले ढाकिएको सिंगो बिहान खेर गएको छ हाम्रो तर यहाँ पुग्दा मन खुसीले फुर्फुर नाँच्न थाल्यो । यहाँ त हुस्सु हराएर छ्याङ्ग खुलेको छ आकाश । एउटै आकाशका भिन्न भिन्न रुप हेर्न पाइयो आज केही घण्टाको अन्तरालमा ।

गाउँको बीचैबीच फराकिलो बाटो । बाटोको छेउछाउमा पच्चिस तीस ओटा घरको लर्को । गाउँको शुरुमैं पक्कि धारो भेटियो । धारा वरिपरि महिलाहरु झुम्मिएका छन् । सुनिल पुन नाम गरेका एक जना तन्नेरी भेटिए । सुनपत्री रहेछ यस गाउँको नाम । वरिपरि हरिया पाखाहरुले घेरिएको सुनपत्री गाउँ जता हे¥यो उतै पहेंलपुर देखिन्छ । आहा ! कति सुन्दर ! कति मनमोहक छन् दृश्यहरु । तोरी फुल्ने मौसमको पिताम्बरी रङ्ग छरिएको छ टारभरी । भिरालो टारमाथि टुक्रुक्क बसेको बच्चाको निश्छल मुस्कान जस्तो उज्यालो फैलिएको छ चारैतिर । पूर्वोत्तर दिशातिर ढल्किएको पाखोमा बिहानीपखका सूर्य किरणले वातावरणमा न्यानो पन छरिएको छ ।

सुनपत्रीका सानासाना गराभरी मुस्कुराउँदै उभिएका तोरीका नाङ्गा बोट वरिपरिका थुम्केला पाखाभरी पोखिएको हरितिमा दृश्यसित मायाप्रीती गाँस्न पाएर हेमन्त ऋतुमैं उन्मादित बनेका हुन् कि झैं । भाव बुझ्ने कोही भेटियो भने माया गाँस्न वसन्त ऋतु नै पर्खिनु पर्छ भन्ने वाध्यता छैन । हुन त प्रकृतिमा नयाँ पालुवा पलाउने र नयाँ परागसेचन हुने याम वसन्त ऋतुलाई मानिन्छ तर नाङ्गो र उजाड मानिने हेमन्त ऋतु पो यहाँ वसन्तजस्तै शोभायमान छ ।

 

यद्यपि बाहिरी आँखाले देखिने यो प्राकृतिक लालिमा जति मनोहारी भए पनि यस सुन्दरताको आकर्षक चित्रका पछाडि लुटपुटिएका गरिबी र अभावका कथाका पटकथाहरु पनि गाउँभरी छरपष्ट छन् । घरहरु युवाबिहीन देखिन्छन् । विद्यालय जाने उमेरका बालकहरु बाटोको धुलोमा खेलिरहेका छन् । कहाँ पढ्दा हुन् विद्यालयबिहिन यो गाउँका बालबालिकाहरु । बिजुलीको पहुँच छैन यहाँ । सोलर उर्जा वा बायोग्याँस पनि देखिएनन् । कतै पनि शौचालयका संरचना नदेखिनु थप उदेकलाग्दो विषय बन्यो । भौतिक विकासको नाममा त्यही पक्कि धारो देखियो । यति लहलह तोरी फुल्ने ठाउँको तोरीको नगदे आम्दानी कहाँ हराउँदो होला? मनभित्र प्रश्नहरु मडारिए । ‘नसम्झ आज नेपाली सञ्चोले यहाँ बाँचेको’ भन्ने दार्जलिङका कवि अगमसिंह गिरिको गीतको भाखा उर्लिन थाल्यो मनभित्र । शायद गाउँलेका लोभलाग्दा हेराईले हामीलाई पनि आशा र आश्वासन लिएर आएका विकासे कार्यकर्ता नै पो ठाने कि?

सुनिल पुन हाम्रो गाइड बनेर सुनछहरीसम्म जान तयार भए । हामी उनकै पछिपछि लाग्यौं । सुनपत्री गाउँको पल्लो पुछारबाट गोरेटो खोल्साको किनारैकिनार घना जंगलभित्र पस्यो । कुनै समय यसलाई राम्रै गरी खनेर बाटोको आकार दिएको हुनुपर्छ तर बिस्तारै मर्मतको अभावमा भत्किदै पुरिदै गएर बिरान बनेको छ । सुनिलले भने— ‘चुरेपारिको सुनपत्री नाकासम्म जाने बाटो हो यो । छ घण्टा हिडेपछि पुगिन्छ तर मान्छे उतिसारो हिड्दैनन ’ ।

हिडाईको गतिसितै हाम्रो कुतुहलताको ढुकढुकी पनि बढ्न लागेको छ । यताको वातावरण निर्जन छ । प्रदुषण र कोलाहलले मुक्त छ यहाँको वन्य परिवेश । पातहरु फिरफिर गरिरहेका बोट, बुट्टयानहरु । बाक्लै झांगिएका अग्लाअग्ला अजङ्गका रुख, बिरुवाहरु । जङ्गलैभरी चिरचिर—चुरचुरको आवाज निकालेर स्वच्छन्द उड्दै आफ्नै जीवनको उन्मुक्त गीत गाइरहेका चराचुरुङ्गीहरु । अनेक लीला गरेर मानिसलाई जिस्क्याउन आउने बाँदर र ढेडुका झुण्ड । लुकीलुकी लजाईलजाई हिडिरहेकी नवदुलहीजस्तै देखिन्छ सुनपत्री खोलो । कतै बगेजस्तो लाग्छ, कतै जमेर ताल बनेजस्तो अनेक लीला गरिरहेको छ खोलाले । खोलाको पानी ठाउँठाउँमा जमेर कुण्ड बनेका छन् । जमेको पानी कुनै ध्यानस्थ ऋषिजस्तै शान्त छ, कञ्चन छ । पानीमा ससाना माछा निस्फिक्री पौडिरहेका छन् । महेन्द्रले चाउचाउ र बिस्कुट हालीदिए कुण्डमा । माछाका हुल ती टुक्रामा हारालुछी गर्न थाले । आहाराको आवश्यकता र लोभ त मान्छे र माछामा उस्तैउस्तै पो हुँदो रहेछ ।

दायाँबायाँ पहाड पारेर बीचैको साँगुरो खोल्सोको छेवैछउ हिंडिरहेका छौं । पहाडी थुम्काका लहर कोही पूर्वबाट पश्चिम ढल्केजस्ता, कुनै दक्षिणबाट उत्तर फर्केजस्ता । खोला पनि खासै ठूलो होइन तर ठूलाठूला ढुङ्गाका रासले भरिएको छ । ढुङ्गाका आकृतिहरु कुनै अमूर्त चित्रकारीको प्रदर्शन गरिरहेका हुन् कि जस्तो लाग्छ । कतैकतै बाटो यसरी च्यापिएर साँगुरो भैदिन्छ कि अग्लो ठाउँमा उभिएका घना रुखहरुले सूर्यको उज्यालो छेकिदिन्छन् र बाटो अँध्यारो बनिदिन्छ । आफ्नो कुतुहलता आफैभित्र गुम्स्याउँदै नीलो रङ्गको बर्को ओढेर चुपचाप उभिरहेका थुम्काहरु पनि हाम्रो टोलीको होहल्ला सुनेर तर्सिएका पो हुन् कि?
यो घुमाउरो खोल्सोमा बतासले सुस्केरा हालेको भने सुनिएन । कहिल्यै मानिसका पाइला नटेकिएका जस्ता यी कुमारी पाखाभरी प्रकृतिका विभिन्न छटाहरु विन्यस्त छन् । भुक्षय र जङ्गल कटानीका असरबाट मुक्त भएर होला प्रकृतिले बनाएका सबै चिजहरु आफ्नो ठाउँमा आफ्नै नैसर्गिक पवित्रता बोकेर उभिरहेका छन् । टाढाटाढा निकै टाढा पुगेर फिर्ता हुन्छ यो मनको जिज्ञासु उडान । नीमबहादुर दाजु प्रश्न गरेको ग¥यै । सुनिलले हरेक प्रश्नको उत्तर फर्काएर सकुन्जेल हाम्रा जिज्ञासा मेटाउने प्रयास गरिरहेका छन् । हुन त प्रकृतिको लीलाका यी हजारौं रुपकहरुको पूर्ण जानकारी त उनलाई पनि कहाँ हुनु !

चुरेपारि जाने बाटो पनि खोलाको साथ छाडेर उकालो लाग्यो । बाटो भन्नुको एउटा रेखोको सहारा छुटेपछि अब हाम्रो हिंडाई बाटोबिहिन बन्न पुग्यो । हिंडाईको सहारा भन्नु खोल्साको आकृति बन्यो । छप्ल्याङ्छप्ल्याङ पानीमाथि हिडेर जुत्ता पनि भिजिसकेका छन् । कुनै ढुङ्गामा लागेको लेऊमाथि कुल्चिदा साथीहरु धेरै पटक चिप्लिए पनि ।

भावना न्यौपानेले धेरै पटक भन्नु भो—‘म त हिड्न सक्दिनँ भयो फर्किउँ साथी’ ।
‘अब हिंत्ती हो’ सुनिल आश्वस्त पार्छन् । उनी कहिले खोल्सावारि, कहिले खोल्सापारि ढुङ्गैढुङ्गा माथि टेक्दै उफ्रिदै जताजता जान्छन् उतै लाग्छ हाम्रो लर्को । खोल्सा वरपर भिरालो ठाउँपट्टिको घना अँध्यारो झाँडीभित्र केही चलमलायो भने श्रीधर भण्डारी— ‘ऊ भालु !’ भनेर जिस्क्यिाउँछन् । हस्याङ्फास्याङ् गर्दै हिंडीरहेका हाम्रा पाइलाहरु टक्क रोकिएर झाँडीतर्फ क्वाकर््वार्ति हेर्न थाल्छन् । केही थाह नपाएको अवस्था र जिज्ञासु हेराई त बालकको हेराईजस्तै अबोध हुँदो रहेछ । कसैले रमाइलो गरी बोल्यो भने रमाइलै लाग्ने, डराएर बोल्यो भने डरै लाग्ने । सुनपत्री खोलाको साँगुरो ऐकान्तिक परिवेश हाम्रोलागि घरी डरलाग्दो बनिदिन्छ, घरी रहरलाग्दो बनिदिन्छ । छविलाल मिटवा सदा झैं अघिअघि लमक्लमक, बलबहादुर जिएम उही पुरानै गतिमा पछिपछि लुरुलुरु । ‘छिटो हिड् मोटे बलु’ नीमबहादुरदाजु जिस्क्यिाइरहनु हुन्छ । बलु मुसुक्क हाँस्दै एकछिन् उभिन्छन् र पसिना पुछ्दै फेरि हिंड्न थाल्छन् ।

हिड्दै गर्दा कतै छङ्छङ पानी बगिरहेको आवाज आएर ठोक्कियो कानमा । रोकिएर सुन्दा आवाज आएको दिशाको निक्र्योल गर्न भने सकिएन । मनको कुतुहलतामाथि कुतुहलता थपियो । खोल्सालाई कहिले दायाँ कहिले बायाँ पारेर हिडिरह्यौं । अनायास आकाश छ्याङ्ग खुलेजस्तो भयो । आँखा अगाडि झल्यास्स दर्शन भयो सुनछहरीको । निकै माथिबाट आकाशनै छेडेर घर्तीमा खस्न आइपुगेको सर्वाङ्ग श्वेतधारा देखियो । परबाट हेर्दा रमाएको मन नजिक पुग्दा छहराको लयसंगै हराउन पुग्यो । छहराको अविरल धारा तल पानीको कुण्डमा खसिरहेको छ ।

कुण्डबाट तरङ्गहरु चारैतर्फ दौडिएर पानीमैं हराउँछन् । माथिबाट बेगका साथ झर्ने पानी तल कुण्डमा खसेपछि अनौंठो छङ्छङको आवाज आइरहेको छ । त्यस आवाजको झङ्कारभित्र अरु चराचुरुङ्गीले चिरबीर गरेको र हामीले कल्याङमल्याङ गरेको आवाज लुप्त भएको छ । हामी निर्मिमेष हेरिरहेका छौं छहराको श्वेतधारालाई । छहराको छङछङले मोहित भएको छु म । अरु पनि चुपचाप छन् । सामुन्नेको पहाडले आफ्नो काँधमा सेतो दोसल्ला ओढेजस्तो मोहक बिम्ब फैलिएको छ दृश्यमा । आकाशले धर्तीलाई जलधाराले अर्घ दिइरहेको आभास पनि भयो कताकता । के बोलुँ के नबोलुँ जस्तो भएर आयो मन । कुतुहलताको खसखस दृश्यमुग्धताको सम्मोहनले निशब्दजस्तै बन्न पुग्यो ।

पानीको कुण्डले करिब दुई कट्ठाको क्षेत्र ओगटेको होला तर गाढा नीलो रङ्ग आएर कुनै गहिरो कुआमा थुप्रिएको हो कि जस्तो भान पर्छ । भित्तोजस्तो ठाउँको माथिबाट छहरा बनेर गहिराईमा खसी रहेको छ पानी । माथि अग्लो ठाउँमा पानीको आकार कुण्डजस्तो छ? या खोलाजस्तो छ? देख्न सकिएन । कुण्डको आसपासको भिरालो पाखोबाट चढ्दै माथि जान खोजेका थिए आशिष र प्रकाशले तर त्यहाँको चिस्यान र लेऊ लागेको भित्तो चढेर माथि जान सहज थिएन । वरपरका भित्तामा बोट बुट्टयानहरु उभिएका छन् । अनेक प्रकारका लहराहरु रुखैभरी जेलिएका छन् । मानौं यी लहरा र रुखहरुको आलिङ्गन कुनै जीवन्त कथाको साक्षात चित्र हो ।
हामी उभिएको ठावैनिरबाट कुण्डको पानी सानो कुलो बन्दै बाहिर गएको देखियो । त्यही कुलो नै अघि हामी हिडेर आएको खोल्सो हो । खोल्सा वरपरका समानान्तर पहाडी हाँगा यही झरनाको भित्तोमा आएर एकआपसमा मिसिएका छन् ।

  •  ‘केही रहर, केही अभिलाषा, बाँकी रहे होलान्
    केही प्रत्याशा, केही दिलासा, बाँकी रहे होलान्
    काट्न त काटियो हाँस्दै खेल्दै यति लामो बाटो
    यद्यपि मनमा केही गुनासा, बाँकी रहे होलान्’’ 

कस्तो विचित्रको ठाउँ हो यो ! यहाँका थुप्रै दृश्यमा मिलनका बिम्ब देखिन्छन् ।
यहाँको सुनसान वातावरणमा आएर मन भावमय बनेको छ । थाहै थिएन प्रकृतिको शूण्यता पनि यति वाचाल हुँदोरहेछ । झरनाको पानीबाट उछिट्टिएर आएका बाछिटाले शरिरमात्र होइन मनको सतह नै भिजाइदिएका छन् । साथीहरु गजल र कविता सुनाउन लागे । मलाई भने जाँगर चलेन । गजलको रमरम र कविताको मिर्मिरभन्दा कम छैन छहराका बाछिटाले भिजाएर लल्याकलुलुक बनाएको बेहोसीपन ।

पुस महिनाको पन्ध्र गतेको दिन हो आज । साल भने दुई हजार चौहत्तर । जीवनको एउटा मोड आज सुनछहरीमा आएर ठोक्किएको छ । यात्राको एउटा अविष्मरणिय बिसौनी बन्यो आज यो सुन्दर छहरा । सूर्यका किरणहरु छहराको तेज धारलाई छेडेर वारिपट्टि आउँदा सुनको जस्तो पहेँलो रङ्ग पोखिदोरहेछ वरपर । यस छहराको नाम सुनछहरा राख्नेले कति मिलाएर राखेका हुन्? आशिष कल्पवृक्षले कुतुहलता पोखिहाले ।
निकै बेर हामी छहराको अग्रभागको समतल ठाउँका ढुङ्गामाथि बस्यौं । कोही कुण्डको पल्लोछऊ त कोही वल्लो छेऊतिर उभिएर फोटो खिच्न थाले । गहिराईतिर जाने हिम्मत भने कसैमा आएन । बोकेर लगेको नास्ता खायौं । एकुन्टा रचना सुनाएर झरनाले निथ्रुक्क भिजाएको मनलाई काव्यको जलप लगाउने प्रयत्न पनि ग¥यौं । छहराको नजिकै जान संभव भएन । टाढैबाट दृश्यपान ग¥यौं । नेत्रास्वादनको रसपान ग¥यौं ।
आँखाभरी सुनछहरीलाई सजाउन पाएकै थिएनौं समयले आफ्नो व्यस्तताको जनाउ दिइहाल्यो । गरुङ्गो मन बोकेर हामी फर्कियौं । चार बजेको छ घडीमा ।

सुनपत्री खोला वरपरका विविध आकृति, विविध रुप र विविध रङ्गका विविध दृश्यसंग मोहनी लगाएर फर्किनु पर्दा हृदय मौन छ । एकैछिनको मोहनीको प्रभाव पनि कति गहिरो हो? यतातिरका बस्ती, खोला झरना सबैका नाममा अगाडि सुननै जोडिएको पाइयो । सुनपत्री खोला, सनपत्री गाउँ, सुनछहरी झरना, सुनपत्री नाका आदि । सुनको भौतिक मूल्यसंग यहाँको जनजीवनले प्रत्यक्ष साक्षात्कार गर्न नपाए पनि प्रकृतिका सुनौला छटाहरुसंग एकाकार हुन पाएका छन् यहाँका मानिसले ।

बगरभरी छरिएका चुच्चे ढुङ्गा पनि कति मायालु लागेका हुन् यतिखेर ! खुट्टा चुम्न आउने ढुङ्गालाई सुम्सुयाएर गजल लेखिदिउँ जस्तो । आउँदा गतिमान भएका हाम्रा कदम फर्किदा भने अल्छि मानिरहेका छन् । एउटा ढुङ्गामाथि टेकेर उफ्रिदै अर्को ढुङ्गामाथि टेक्नु पनि कुनै सैनिकले कसरत खेलेजस्तो हुँदैछ । पहाड चढ्नु परेकोजस्तै तागत लगाउनु परिरहेको छ सुस्तरी हिड्न पनि ।
क्षणक्षण ओझेल पर्दैछन् सुनछहरीका प्रतिध्वनिहरु ।

खुट्टाभरी ठेला र पानीका पोका उठेर हिड्न गाहारो भएको छ पुष्पा केसीलाई । तैपनि उनी तिनै ठेला सुम्सु¥याएरै तृप्त छिन् । मुग्ध छिन् ।
सुनपत्री गाउँको अघि देखिएको पहेंलो पाखोलाई सायंकालिन अँध्यारोले छोप्न खोजिरहेको छ । हाम्रा कदम छिटोछिटो अघि बढिरहेका छन् । उही गोरेटो, उही खोल्साको बाटो तर अघिको चपलता अहिले मौनतामा बदलिएको छ । बिहान यही उकालो चढ्दा बैंसको भार थाप्न नसकि उन्मक्त भएकी पुतलीजस्तै चपल थियो हाम्रो मन तर अहिले रजस्वलापछि ऋतुदान गरी सन्तुष्ट भएर टोलाएकी युवतीको मनोदशाजस्तै मौन भएको छ । आफ्आफ्नै मनको मौनतासित लयबद्ध हुँदै अँध्यारोमा हिडिरहेका छन् हाम्रा पाइला । हिंडाई सुस्त भएको छ । मनको जिज्ञासु उडान अझैं मालसिरीको संगीतमैं मन्त्रमुग्ध छ । मन आफैसित वार्तालाप गरिरहेको छ । तृष्णा र तृप्तिको हिसाबकिताब गरिरहने फुर्सद कसैलाई छैन ।

केही रहर, केही अभिलाषा, बाँकी रहे होलान्
केही प्रत्याशा, केही दिलासा, बाँकी रहे होलान्
काट्न त काटियो हाँस्दै खेल्दै यति लामो बाटो
यद्यपि मनमा केही गुनासा, बाँकी रहे होलान्

-(आदर्शमार्ग, नेपालगंज)