प्रदेश 2

नेकपा एकीकरण : प्रदेश २ मा एउटै संसदीय दल बनाइयाे

जनकपुर । प्रदेश २ प्रदेशसभामा रहेको नेकपा एमाले र माओवादी केन्द्र संसदीय दल कार्यालय विघटन गरी सोमबारदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ संसदीय दल निर्माण गरिएको छ ।

प्रदेशसभा गठन भएको आठ महिना अधिक बितिसक्दा पनि दुवै पार्टीको संसदीय दल तथा दलका नेता बेग्ला बेग्लै थिए।

नेकपा प्रदेश २ का अध्यक्षका प्रभु साहको अध्यक्षतामा आइतबार सम्पन्न प्रदेश कमिटी बैठकले एकीकृत संसदीय दल निर्माणसँगै मातहतका सबै कमिटीहरुको एकीकरण गर्न आठ वटै जिल्लामा चार सदस्यीय कार्यदल समेत गठन गरेको छ।

बैठकको निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा नेकपा प्रदेश २ अध्यक्ष प्रभु साहले कात्तिक पहिलो सातासम्म जिल्ला तथा मातहातका सम्पूर्ण कमिटीहरु एकीकृत भईसक्ने दाबी गरे।

एकीकृत पार्टी कार्यालयको उद्घाटन तथा दशैं, तिहार, छठ पर्वको अवसरमा शुभकामना आदान गर्न कार्तिक ६ गते जनकपुरमा भव्य कार्यक्रम आयोजना गरिने जानकारी पनि उनले दिए। पार्टी उद्घाटन समारोहमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेल सहभागी हुने उनले बताए।

कार्तिक पहिलो सातासम्म जिल्लामा रहेका अलग अलग पार्टी कार्यालयहरु एकिकृत गर्ने , पूर्व दुवै पार्टीको नाममा वा स्वामित्वमा रहेको सम्पति एकीकृत गर्ने तथा दुवै पार्टीको सदस्यता विवरण र अभिलेखहरु अद्यावधिक गरी प्रदेश कार्यालयमा बुझाउने निर्णय समेत भएको अध्यक्ष साहले जानकारी दिए।

जिल्ला मातहातका सबै कमिटीहरुको एकिकरण सिफारिस लगायतका काम गर्न प्रदेश २ भित्रका आठ वटै जिल्लामा चार सदस्सीय कार्यदल समेत गठन गरिएको छ।

धनुषामा श्रवण यादव,रामचन्द्र मण्डल,श्रीप्रसाद साह र राजकिशोर यादव,महोत्तरीमा योगनारायण यादव,शौखीलाल यादव,राजु खडका र तुलसी ढुंगाना,सिरहामा लीलानाथ श्रेष्ठ,प्रमोद कुमार यादव, रामकुमार यादव र अजयशंकर नायक , सप्तरीमा अशोक कुमार मण्डल,महेश यादव,रामप्रीत पासवान र गोविन्द न्यौपाने, सर्लाहीमा कमला देवी महतो, रेवती पन्त, डाचारराज वाग्ले र शिवपुजन यादव, रौतहटमा युवराज भट्टराई, उपेन्द्र साह , कल्याण खडका र कमल यादव , बारामा गोपाल ठाकुर, क्षेत्रबहादुर श्रेष्ठ, बलबीर चौधरी र सुन्दर विश्वकर्मा तथा पर्सामा रामचन्द्र साह, प्रभु हजारा, विजय महतो र छोटेलाल यादव कार्यदल सदस्यमा रहेको जानकारी पनि अध्यक्ष साहले दिए।