समाचार

पाँच वर्षभित्र वैदेशिक रोजगारीमा बाध्य भएर जाने अवस्थाको अन्त्य हुन्छ : मन्त्री विष्ट

काठमाण्डाै । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पाँच वर्षभित्र वैदेशिक रोजगारीमा बाध्य भएर जाने अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता दोहोर्‍याएका छन्। मन्त्री विष्टले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न सरकार लागि परेको दाबी गरेका हुन्।

सोमबार सर्जक दुर्गा रायमाझीको शब्द, लय र स्वरमा सजिएको गीति एल्बम ‘फर्क दाइ फर्क’काे विमोचनमा उनले मुलुकलाई समृद्ध बनाउन जनताको श्रम र सीपलाई सरकारले सक्दो सदुपयोग गर्ने योजना अघि सारे। मन्त्री विष्टले जनतालाई सुखी बनाउने लक्ष्यसहितको समृद्धिको अभियानमा सबैलाई साथ दिन पनि आग्रह गरे।

कार्यक्रममा नेपाली का‌ंग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तत्काल स्वदेश फर्कने सम्भावना नरहे पनि देशमा लगानी गर्न वैदेशिक रोजगारमा गएकाहरुलाई आग्रह गरे। उनले भूगोलभित्र नरहेका नेपालीहरुले पनि राष्ट्र निर्माणमा सहभागी हुन सक्ने पनि स्पष्ट पारे।गीति एल्बममा स्वदेश फर्कन र राष्ट्रको सेवामा लाग्न आह्वान गरिएको छ। सर्जक रायमाझीले राष्ट्र निर्माणमा विदेशमा रहेका युवाहरुलाई सहभागी हुन गीतको सृजना गरिएको बताए।