अन्तर्राष्ट्रिय

अफगान राष्ट्रपतिसँग अमेरिकी विशेष दूतको भेटवार्ता

काबुल । अफगानिस्तानका लागि शान्ति तथा मेलमिलाप सम्बन्धी अमेरिकी विशेष दूत जाल्मे खलिलजादले अफगानिस्तानका राष्ट्रपति मोहम्मद अस्राफ घानीसँग भेट गरेका छन् । अफगानिस्तानमा दिगो शान्ति स्थापनाको सम्भावना पहिल्याउन खलिलजाद काबुल आइपुगेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उनीहरुबीच अफगान–नेतृत्व र अफगान–स्वामित्वमा शान्ति कायम गर्ने सम्भावनाका बारेमा छलफल भएको छ । साथै मुलुकमा समावेशी शान्ति स्थापना गर्ने बारेमा दुवै नेताबीच छलफल भएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा अफगानिस्तानका उच्च पदस्थ अधिकारीहरुको पनि सहभागिता थियो । अमेरिकी विशेषदूत पाकिस्तानको भ्रमण पूरा गरी काबुल आइपुगेका छन् । उनी यसपछि युनाइटेड अरब इमिरेट्स, कतार र साउदी अरेबियाको भ्रमण गर्नेछन् । उनले अफगानिस्तानमा सङ्घर्षरत मुख्यरुपमा तालिबान समूहसँग वार्ता गर्ने सम्भावना रहेको बताइएको छ ।